विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको शनिबार निरीक्षण र अनुगमन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो । कोइरालाले हालै भएको संसद विघटन संविधान सम्मत नभएपनि देशलाई थप क्षतिबाट जोगाउन यो नै विकल्प भएको बताएका छन् । संसद विघटन राष्ट्रपतिको ‘ड्यामेज कन्ट्रोल’ का रूपमा आएको परिस्थितिजन्य निर्णय भएको उनको भनाइ छ । ‘सबै कुरा संविधानसम्मत यस्तो बेलामा हुँदैन । यो असंवैधानिक भए पनि, भएको संविधानलाई धेरै नचलाईकन, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ,’ उनले भने । वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष चुनाव गराउनु रहेको र अब देश चुनावकै बाटोबाट ट्र्याकमा ल्याउनु पर्ने बताए । ‘अब चुनाव, चुनाव, चुनाव’ उनले भने ।

उनले संविधानलाई पूर्ण रूपमा छिन्नभिन्न हुनबाट जोगाउन राष्ट्रपति सफल भएको पनि बताए । ‘यो सरकार निर्वाचनको लागि मात्र हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन जरुरी छ,’ डा. कोइरालाले भने, ‘निर्वाचन, निर्वाचन, निर्वाचन । यो सरकारको निम्ति अर्को तेस्रो विकल्प छैन ।’ उनले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई २१ फागुनमा तोकिएको चुनावको तयारीमा जुट्न आह्वान पनि गरे ।
कोइरालाले जेनजी आन्दोलनको उदय हुनुमा राजनीतिक दल र सरकारको कमजोरी रहेको स्वीकार गरे । भ्रष्टाचार, कुशासन जस्ता मुद्दामा जेनजीले उठाएका मागलाई समयमै सम्बोधन गर्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाइ छ । ‘उनीहरूको मागलाई हामीले आत्मसात गर्न सकेनौं, विश्वास गरेनौं । त्यो सरकारको पनि गल्ती भयो,’ उनले भने ।
उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । ‘२३ गतेको घटनाको छानबिन बेग्लै र २४ गतेको घटनाको छानबिन बेग्लै हुनुपर्छ । आठ घण्टामा देश ध्वस्त भएको छ, यसको जिम्मेवारी सांसदको हैसियतले मैले र नागरिकको हैसियतले तपाईंहरूले पनि लिनुपर्छ,’ कोइरालाले भने । उनले युवाहरुलाई ठाउँ नदिएको भन्ने बारे प्रश्न गर्दै भने, ‘युवाहरूको सहभागितालाई नेपाली कांग्रेसले अगाडि बढाउनुपर्छ । तर युवाहरूको सहभागिता भन्नाले के भन्ने ? कसलाई भन्ने ? जेनजी पुस्ता के हो ? उनीहरूको आकांक्षा के हो ? अब खाली उनीहरू पनि यसबाट पन्छिन मिल्छ कि मिल्दैन ? २३ र २४ गतेकोमा ? सोचौं हामी । सरकारमा अहिले जेन्जी छन् कि को छन् ? ।’

विराटनगरस्थित कोइराला निवासमा भएको आगजनीको प्रसंगमा डा. कोइराला भावुक देखिए । उनले उक्त घर आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको पर्यायवाची र ऐतिहासिक धरोहर भएको बताए । ‘यो घर शेखर कोइरालाको मात्रै घर होइन । यो घर भनेको जहाँ लोकतन्त्रको लागि राणाकालदेखि लडेको घर हो,’ उनले भने, ‘कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो नि त यो । यो घर जल्दा तपाईंहरू कहाँ हुनुहुन्थ्यो ? ।’ आफू जन्मिएको, हुर्किएको र आफ्नो पहिचान बनाएको घर खरानी भएपनि त्यही खरानीबाट फेरि उठेर लोकतन्त्रको लडाइँलाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । ‘म यहीँ जन्मिएँ, यही घरमा । यहीँ हुर्किएँ, यहीँ पढेँ, लेखेँ, डाक्टर भएँ । आज जे छु, जस्तो छु, यही घरले मलाई बनायो । त्यो कुरा त म बिर्सन सक्दिनँ । त्यो कुरा त आउँदैन नि त । इतिहास त गयो । तर त्यहीँबाट हामी फेरि उठ्छौं, उठेर अगाडि बढ्छौं,’ कोइरालाले भने, ‘अब ६ महिनाभित्र चुनाव गर्ने भनेको छ । आखिर बस्नु त यहीँ घरैमा बसेर चुनाव लड्ने होला । यसलाई न्यूनतम रूपमा कसरी गर्न सकिन्छ, हेरौं न ।’
नेपाली कांग्रेसको कार्यसम्पादन समितिमा महामन्त्रीहरूले विशेष महाधिवेशनको प्रस्ताव राखेको विषयमा डा. कोइरालाले अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने बताए । ‘कसले के भन्यो भन्ने होइन, नेपाली कांग्रेसले के भन्छ भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ र त्यसलाई सबैले मानेर जानुपर्छ ।’ उनले नेतृत्व परिवर्तनको नाममा जथाभावि हिंड्न नमिल्ने पनि बताए । ‘जथाभावी अगाडि बढ्ने हुन्छ त ? मिल्छ ? त्यो पनि सोचौं न,’ उनले भने, ‘तपाईंहरूले परिस्थिति बुझ्नुभएको छैन । परिस्थिति बुझ्नुभएको छ ? मैले यसअघि के बोलेको छु, त्यो म अहिले पनि अडिग छु । तर केन्द्रीय कमिटीले गर्ने निर्णयलाई त मानेर हिँड्नुप¥यो नि ।’

नेतृत्व परिवर्तनको आफ्नो पुरानो अडानमा कायमै रहेको तर अहिलेको प्राथमिकता चुनाव भएकाले पार्टीभित्रको बहसमा भन्दा पनि देशलाई सही बाटोमा ल्याउन केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । डा. कोइरालाले सबैलाई संयमता अपनाउँदै, नडराईकन निर्वाचनको तयारीमा जुट्न आग्रह गरे । ‘म यहीँबाट नेपाली कांग्रेसका सबै कार्यकर्ताहरूलाई आह्वान गर्न चाहन्छु, तपाईंहरू सबै निर्वाचनको उसमा होमिइनुहोस् र अगाडि बढ्नुहोस् । सबै साथीहरूलाई संयमताको साथ, कुनै दम्भ नदेखाईकन, नडराईकन अगाडि बढ्नुहोस्,’ कोइरालाले भने ।
कोइरालाले प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको मागलाई अहिलेको संविधानले एसेप्ट नगर्ने बताए । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी, यो कुराहरू त तपाईंको अहिलेको संविधानले त दिँदैन नि त । अहिलेको संविधानले त जस्तो पोजिसनमा छ, त्यस्तै निर्वाचन प्रणालीबाट जानुपर्छ,’ कोइरालाले भने ।