विराटनगर । पाँचथर हिलिहाङका ३२ वर्षीय कमल भण्डारीले केही दिन अगाडि दशैं आउन लागेको संकेत गर्दै टिकटकमा एउटा भिडियो बनाएका थिए । त्यहाँ उनले आमालाई सम्बोधन गर्दैै भनेका छन्, ‘दशैं अरूको घरमा जस्तै हाम्रो घरमा पनि आउँछ होला है आमा । तर अर्काको घरमा जस्तो खुसी चाहिँ आउँदैन होला ।’
साउदीको तातो घाममा तीन वर्ष पसिना बगाएर कमाएको पैसाले पहाडको दुःख बिसाउँदै श्रीमती सीता पौडेल र ५ वर्षकी छोरीलाई सुख दिने उद्देश्यले विर्तामोड १० विराटपोखरीमा घर बनाउँदै थिए । गत वैशाखदेखि घर बनाउन सुरु गरेका उनले छत ढलाई गर्दै गरेको भिडियो टिकटकमा हालेका छन् । त्यहाँ उनले आफ्नी श्रीमती र छोरीलाई सम्बोधन गर्दै भनेका छन्, ‘आफैंले बनाउँदैछु, त्यसैले समय लाग्दैछ । सजाइएको जिन्दगी पुख्र्यौली उपहारमा पाएको थिइनँ मैले । त्यसैले मेहनत म गर्छु, विश्वास तिमी गर्नु है मायाँ ।’ टिकटकमा रमाइरहने उनले दर्जनौं भिडियो पोष्ट गरेका छन् । अर्को एउटा भिडियोमा उनले भनेका थिए, ‘डर लाग्छ… कतै सपना पूरा नहुँदै जिन्दगी नै सकिने पो हो कि ? ।’
तर, संयोग भनौं वा नियती भनौं । उनले भनेजस्तै दशैं सबैतिर आउने भयो । उनको घरमा दशैं नआउने भयो । सपनाको महल ठड्याउने त भनियो तर, महलमा खुसी नआउने भयो । सपना पुरा नगरी उनको जिन्दगी नै सकियो । किनकी उनै कमल भण्डारीको भदौ २३ गते विर्तामोडमा भएको जेनजि आन्दोलनका क्रममा झडप हुँदा मृत्यु भयो ।
‘घर लगभग तयार भइसकेको थियो । अन्तिम ‘फिनिसिङ’को काम बाँकी थियो,’ उनका भाई शान्तिराम भण्डारीले भने, ‘उहाँ परिवारलाई त्यहीँ सारेर छोरालाई पढाउने योजनामा हुनुहुन्थ्यो ।’ तर, देशमा चर्किएको आन्दोलनको एउटा झिल्कोले उनको सपनाको घर र सिंगो जीवन नै खरानी बनाइदियो ।
कमलको मृत्युले उनको परिवारमाथि बज्रपात भएको छ । उनकी श्रीमती सीता पौडेल तीन महिनाकी गर्भवती छिन् । उनीहरूको ५ वर्षको एक छोरी छिन् । श्रीमानको मृत्युको खबरले सीता अर्धचेत अवस्थामा छिन् । अब जन्मने सन्तानले बुबाको काख कहिल्यै पाउने छैन भने ५ वर्षीय छोरीले बुबाको अभाव जीवनभर महसुस गर्नेछ । ‘भाउजू तीन महिनाको गर्भवती हुनुहुन्छ । पाँच वर्षको छोरी छ,’ भाइले गह्रुँगो स्वरमा भने, ‘उहाँहरूको भविष्य अब के हुने हो, हामी सबै शोकमा छौँ ।’ ७ वर्षअघि विवाह बन्धनमा बाँधिएका यो जोडीको खुसीको संसार एकाएक उजाडिएको छ ।
घटना भएको दिन २३ गते कमल ‘म एकछिन आन्दोलनमा गएर आउँछु’ भनी निस्किएका थिए । तर, उनी कहिल्यै फर्केनन् । भोलिपल्ट मात्रै श्रीमती सीतासहित परिवारले उनको मृत्युको खबर पायो । ‘घटना भएको भोलिपल्ट उहाँलाई बीएनसी हस्पिटलमा लगिएको थाहा पायौँ,’ भाइ शान्तिरामले भने, ‘त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।’
सरकारले कमल भण्डारीलाई सहिद घोषणा गर्दै उनको परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख र ५ लाख तत्कालिन खर्चदिने निर्णय गरेको छ । उनीजस्तै सहिदहरुको सम्मानमा असोज १ गते राष्ट्रिय शोक दिवस पनि मनाइएको छ । तर, परिवारका लागि पैसाभन्दा ठूलो गुमेको सदस्यको अभाव हो । गुमेको शरिर नआउने भन्दै शान्तिराम भन्छन्, ‘हामी त शोकमा छौँ, अब देशलाई राम्रो होस्, हाम्रो मान्छेले ज्यान गुमाएको सार्थक होस् भन्ने चाहन्छौँ,’ शान्तिरामले भने ।
५७ वर्षीय बुबा गणेशप्रसाद भण्डारी र ५५ वर्षीया आमा खगमाया कार्कीले आफ्नो माइलो छोरा गुमाएका छन् । त्यसै दिन खबर सुनेदेखि बुबा गणेशप्रसाद बिरामी भएका छन् । तीन दाजुभाइ र दुई दिदीबहिनीमध्येका कमलको निधनले परिवार र सिंगो गाउँ नै स्तब्ध बनेको छ । विर्तामोडको विराटपोखरीमा बनिरहेको उनको घर आज रित्तो छ ।