विराटनगर । भदौ २३ गतेको देशब्यापी जेनजीको आन्दोलनलाई उत्तेजित बनाउने विभिन्न कारकमध्येका एक हुन्, कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबबहादुर मगर ।
जेनजी समूहले नेताहरुको भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रको विरुद्ध भन्दै देशब्यापी प्रदर्शन आह्यान गरिसकेको बेला भदौ २२ गते मन्त्री म गरको गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकाकालई ठक्कर दिएको थियो । नेकपा एमालेको विधान महाधिवेशनमा भाग लिन ललितपुरको गोदावारी जाने क्रममा मगर सवार गाडीले बालिकालाई ठक्कर दिएर उनको उद्धार नगरी अगाडि बढेको थियो ।
मन्त्रीको झण्डावाल गाडीले जेब्राक्रसमा बालिकालाई ठक्कर दिएर उनी पछारिएपछि तीव्र गतिमा हुइँक्याइएको भिडियो सार्वजनिक भएपछि उनीमाथि चौतर्फी आक्रोश पोखिएको थियो । त्यो आक्रोशले जेनजीको २३ गतेको प्रदर्शनलाई बल पुर्यायो ।
मन्त्रीको गाडीले ११ वर्षीय उषा सुनुवारलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले केहिबेर सडक अबरुद्ध गरेका थिए । त्यसबारे गोदाबरीको एमाले महाधिवेशन हलबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले रुखो टिप्पणी गरे । मन्त्रीको गैरजिम्मेवारीबारे आलोचना भइरहेको बेला ओलीले महाधिवेशन भाँड्न घटनालाई उछालिएको आरोप लगाए ।
सोझा र इमान्दार छवि भएका मन्त्री मगरले असुरक्षाको कारण आफ्नो पिएसओले गाडी रोक्न नमानेकोले अगाडि बढेको भन्दै बालिकाको उपचारको जिम्मेवारी लिएको बताएका थिए । तर, ओलीले ‘सामान्य घटनालाई उचालेर महाधिवेशन भाँड्ने षड्यन्त्र भएको अभिव्यक्ति दिएर युवाको आक्रोशको आगोमा पेट्रोल छर्कने काम गरेका थिए ।
‘एमाले विधान महाधिवेशन भाँड्ने षड्यन्त्रसहित तत्व सक्रिय भएको’ ओलीको आरोपले २३ गते अझै धेरै आक्रोश सडकमा पोखिएको थियो । मन्त्री मगरलाई तत्काल आत्मालोचना गराएर राजीनामा गराउनुपर्ने माग भएको थियो । तर, प्रधानमन्त्री र उनको बचाउमा उत्रिएपछि आक्रोश बढेको थियो ।
युवा आक्रोशलाई प्रधानमन्त्रीको अभिव्यक्तिले थप उत्तेजित बनायो । फलस्वरूप भदौ २३ र २४ गते नेपालभर आन्दोलन चर्कियो । जेनजी पुस्ताले गर्ने भनेको शान्तिपूर्ण प्रदर्शनमाथि २३ गते सरकारले बर्बर दमन गर्दा २४ गते सरकार र प्रदर्शनकारीको नियन्त्रणबाहिर देशभर ताण्डब बच्चाइयो । त्यस दिन सिंहदरबारदेखि संसद् भवन सर्वोच्च अदालतदेखि राष्ट्रपति कार्यालयसम्म, प्रदेश, स्थानीय तहका संरचनादेखि प्रहरी कार्यालयसम्म आगजनी, लुटपाट र तोडफोड भयो । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए, प्रतिनिधिसभा बिघटन भयो र अन्तरिम सरकार गठन भयो ।
आन्दोलनमा घुसपैठ भएको सार्वजनिक टिप्पणी भएपनि जनआक्रोश बढाउने कारण मन्त्री मगरको गाडीले बालिकालाई ठक्कर दिएको घटना बनेको थियो । जसले प्रदेश सरकारका संरचनाहरु पनि सबै खरानी भएका छन् । तर, मन्त्री मगरले भने राजीनामा दिएनन् । उनले त्यो प्रकरण मिलिसकेको भन्दै त्यसले आन्दोलन भड्किएको कुरा अस्वीकार गरेका छन् ।
बालिकाको उपचार गरेर पैसा दिएको यसअघि नै बताएका उनले राजीनामाको विषयमा नसोचेको प्रतिक्रिया दिए ।