सोमबारदेखि पार्टी काममा फर्किए प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी काममा फर्केका छन् । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा थिए ।

२३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । माओवादी केन्द्रका नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी सोमबारदेखि पार्टी काममा फर्किएका हुन् ।

आगजनीपछि मंगलबार प्रचण्ड पार्टी मुख्यालय अवलोकनमा पुगे । त्यस क्रममा उनी नेता/कार्यकर्तासँगै सरसफाइमा समेत सरिक भएका छन् ।

सरसफाइमा सरिक हुनु अगाडि उनले भवनमा के कति क्षति भएको छ भनेर अवलोकन गरेका थिए । त्यस क्रममा उनले धेरै ठूलो क्षति भएको बताए । त्यसका बाबजुद पुस्तकालय, पार्टी बैठकका माइन्युट, कम्युटर र केही रेकर्डहरू बचेको बताए । यो बचाउन भूमिका खेलेका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई उनले धन्यवाद दिए ।

अब फेरि कार्यकर्ताको साथ लिएर नयाँ र भव्य पार्टी कार्यालय बनाउनेसमेत अध्यक्ष प्रचण्डले बताएका छन् ।

भदौ ३१, २०८२, बिहानको ११:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर