विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालको आफ्नै फामेर्शीका कर्मचारीहरुको मिलेमतोमा स्वास्थ्य विमा गरेका विमितहरूको स्वास्थ्य विमा रकमबाट औषधिमा लुट मच्याउने गरेको पाइएको छ ।

अस्पतालको तीन जना कर्मचारीहरुको मिलेमतोमा विमित विरामीहरुको स्वास्थ्य बिमाको कार्ड दुरुपयोग गरेर उनीहरुले फार्मेसीबाट अनियमितता गर्ने गरेको छानविनबाट खुलेको हो । यसरी भएको घोटलामा अस्पतालका तीन कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएपछि उनीहरूलाई आइतबार बर्खास्त गरिएको छ । तर, यो घटनाले स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन र निगरानी प्रणालीमा रहेको गम्भीर कमजोरीलाई सतहमा ल्याइदिएको छ ।

अस्पताल प्रशासनका अनुसार, विमितहरूको बिमाबाट औषधिको संगठित दुरुपयोग गर्ने कार्यमा फार्मेसी सहायक शिशिर साहु (साह), फार्मेसी सहायक निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामतको संलग्नता पुष्टि भएको थियो । अस्पतालले गठन गरेको छानविन समितिले उनीहरूलाई दोषी ठहर गरेपछि आइतबार तीनै जनालाई सेवाबाट बर्खास्त गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रूना झाले जानकारी दिइन् । ‘एक जना बिमितले दिएको उजुरीको आधारमा हामीले तत्काल छानबिन समिति गठन गरेका थियौं । समितिले पेस गरेको प्रतिवेदनले उनीहरूको संलग्नता स्पष्ट पारेपछि हामीले कारबाही गरेका छौं,’ उनले भनिन् ।

यो संगठित ठगीको पर्दाफास एक जना क्यान्सर पीडित बिरामीको जागरुकता र हिम्मतका कारण सम्भव भएको हो । मोरङका ती बिरामी नियमित उपचारका लागि कोशी अस्पताल आउने गर्दथे । हालै उनी आकस्मिक कक्षमा जाँच गराउन पुगे र चिकित्सकले उनलाई नियमित सेवन गर्ने औषधिसहित एक हप्ताको लागि औषधि पुर्जी लेखिदिए । उनले फार्मेसीबाट सोहीअनुसार औषधि लिए ।

तर, केही दिनपछि जब उनले आफ्नो बिमा कार्डको विवरण हेरे, उनी छाँगाबाट खसेझैं भए । एक हप्ताको औषधि लिएकोमा उनको बिमा खाताबाट एक महिनाको औषधिको रकम काटिएको थियो । ‘म त छक्क परें, लिएको एक हप्ताको औषधि तर पैसा एक महिनाको काटिएको रहेछ,’ ती बिरामीले आफ्नो अनुभव सुनाउँदै भने, ‘त्यसपछि मैले अस्पतालको स्वास्थ्य बिमा सहजीकरण डेस्कमा गएर सोधपुछ गर्दा मेरो नाममा एक महिनाको औषधि लगेको रेकर्ड देखियो । यो सरासर ठगी हो भन्ने लागेपछि मैले अस्पताल प्रशासनमा लिखित उजुरी दिएँ ।’

उनको यही उजुरीले कोशी अस्पतालको फार्मेसीभित्र चल्दै आएको ठूलो घोटालाको सानो अंश मात्र बाहिर ल्याएको हो ।
छानबिन समितिको अनुसन्धानले फार्मेसीका कर्मचारीहरूले बिमाको रकम दुरुपयोग गर्न विभिन्न तरिका अपनाउने गरेको देखाएको छ । बिरामीलाई आवश्यक पर्नेभन्दा निकै कम औषधि दिने तर बिमा कार्डबाट महिनौंसम्म पुग्ने औषधिको रकम काट्ने । जस्तै, एक हप्ताको औषधि दिएर एक महिनाको पैसा काट्ने गरेको छानविन समितिले बनाएको प्रतिवेदनमा उल्लेख छ ।
चिकित्सकले पुर्जीमा नलेखेको महँगो औषधि समेत बिरामीले लगेको भनेर झुटो विवरण चढाएर रकम काट्ने गरेको छ । सोझा र अशिक्षित बिरामीहरूलाई यसरी ठग्नु उनीहरूका लागि सामान्य बनेको थियो ।

आकस्मिक कक्षमा एक दिन बसेको बिरामीले मुश्किलले दुई–चार ट्याब्लेट औषधि सेवन गरेको हुन्छ, तर उसको बिमा खाताबाट दुई सय ट्याब्लेट औषधि लगेको भनेर रकम काटिएको जस्ता डरलाग्दा तथ्यहरू पनि फेला परेका छन् ।
यसरी बिमाबाट दुरुपयोग गरेर निकालिएको औषधि फार्मेसीका कर्मचारीहरूले बाहिरका निजी औषधि पसलहरूमा बेच्ने वा आफ्ना मान्छेलाई दिने गरेको अस्पतालकै अन्य कर्मचारीहरू बताउँछन् । यो कार्यले एकातिर बिमितको बिमा रकम समयअगावै सकिने र अर्कोतिर राज्यकोषको चरम दुरुपयोग हुने गरेको प्रस्ट छ ।

कोशी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी बहिरंग (ओपिडी) सेवाका लागि आउँछन्, जसमध्ये अधिकांश स्वास्थ्य बिमा गरेका हुन्छन् । यति ठूलो संख्यामा बिमितहरूको चाप हुने ठाउँमा फार्मेसीको सफ्टवेयर प्रणाली, औषधिको स्टक र बिलिङको नियमित र प्रभावकारी अनुगमन नहुँदा कर्मचारीहरूले लुट मच्चाउने अवसर पाएको देखिन्छ ।

यस विषयमा स्वास्थ्य बिमा बोर्ड, कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले चिकित्सकको सिफारिसबिना औषधि दिनु गैरकानुनी भएको बताए । ‘चिकित्सकले बिरामीको आवश्यकता हेरेर लेखिदिएको औषधि मात्र दिन पाइन्छ । आकस्मिक कक्षमा आएको बिरामीलाई एकैपटक एक महिनाको औषधि दिन मिल्दैन । यो गम्भीर विषय हो,’ उनले भने । यद्यपि, उनले यस विषयमा बोर्डमा कुनै लिखित उजुरी नआएको जानकारी दिए ।

अस्पतालले तीन कर्मचारीलाई बर्खास्त गरेर तत्कालका लागि समस्या समाधान गरेको देखाए पनि यो घटनामा संगठित भएको हुन सक्ने आशंका गरिएको छ । यो घटनाले कोशी अस्पतालको व्यवस्थापनमाथि मात्र नभई प्रदेशभरका ११८ वटा सेवा प्रदायक संस्थाहरूको पारदर्शिता र जवाफदेहितामाथि पनि गम्भीर प्रश्न उठाएको छ । कोशी प्रदेशमा हाल २७ लाख ८० हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् । झापामा सबैभन्दा बढी ८ लाख १६ हजार र सोलुखुम्बुमा सबैभन्दा कम १८ हजार २ सय ८६ जना बिमित छन् ।