विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एउटा ल्याप्टप र प्रिन्टिरबाट काम सुरु गरेको छ । विराटनगरको रोडशेष दक्षिणमा रहेको मुख्यमन्त्री कार्यालयको मुख्य भवनको पछाडिपट्टि बचेको सवारी चालकहरु बस्ने भवनबाट काम सुरु भएको हो ।

प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले मुख्यमन्त्री कार्यालयलगायत अधिकांश मन्त्रालयहरू पूर्ण रूपमा ध्वस्त भएपछि कोशी प्रदेश सरकारले वैकल्पिक व्यवस्थापनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमै आएर पौडेलले आवश्यक कामको निर्देशन दिइरहेकी छिन् । उनका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा बनेको नयाँ सभाहल भवनबाट काम अघि बढाउने तयारी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ‘पूर्ण रूपेण ध्वस्त भएको छ, जसका कारण तत्काल सो भवनबाट सेवा प्रवाह गर्न असम्भव छ,’ पौडेलले भनिन् । सेवा प्रवाह तत्काल यसअघिकै बिल्डिङबाट हुन सक्ने अवस्थामा नरहेको उनले बताइन् । ‘अहिले हामी क्षतिको विवरण संकलन गरी मुचुल्का उठाउने प्रक्रियामा छौं,’ उनले भनिन् ।

हालै निर्माण सम्पन्न भएको दुईतले सभाहलमा पनि तोडफोड भएको छ । तोडफोड र आगजनी भएको भवनको सरसफाइ भइरहेको छ । सोही भवनको तल्लो र माथिल्लो तलामा बसेर मन्त्रिपरिषद् बैठक र अत्यावश्यक सेवा प्रवाहको व्यवस्था मिलाइने पौडेलले बताइन् । ‘हामी सबै कर्मचारीहरू उपस्थित छौं र समानान्तर रूपमा व्यवस्थापनको काम गरिरहेका छौं’, उनले भनिन् ।

ऐतिहासिक दस्तावेज जल्यो

आगजनीले प्रदेश सरकारको भौतिक संरचनामा मात्र नभई ऐतिहासिक र प्रशासनिक दस्तावेजमा पनि अपूरणीय क्षति पु¥याएको छ । प्रमुख सचिव पौडेलका अनुसार, विगत सात वर्षदेखि राखिएका फाइल र कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यद्यपि, डिजिटल डाटाहरू भने केही हदसम्म सुरक्षित रहेको उनले बताइन् । प्रदेशको डाटा सेन्टर काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्रसँग जोडिएकाले त्यहाँसम्म पुगेका डाटाहरू सुरक्षित रहेको उनले बताइन् । ‘हाम्रा भुक्तानी, बजेट र हाजिरीसँग सम्बन्धित प्रणालीहरू एकीकृत डाटा केन्द्रमा लिङ्क भएका कारण पुनः सञ्चालनमा आइसकेका छन्,’ पौडेलले भनिन्, ‘तर, हामीले यहीँ राखेका केही डाटा सेन्टर र डाटाहरू भने आगलागीमा परेका छन् ।’

विशेषगरी कानुनी बहसका अभिलेख, जवाफ लेखिएका कागजात र अन्य महत्वपूर्ण प्रशासनिक निर्णयहरू भौतिक रूपमा नष्ट भएकाले ती पुनः प्राप्त गर्न चुनौतीपूर्ण हुने देखिएको छ । सरकारले अब अन्य निकायहरूमा सुरक्षित रहेका कागजातहरूको प्रतिलिपि खोजेर काम चलाउनुपर्ने अवस्था आएको उनले बताइन् ।

प्रदेशका अधिकांश मन्त्रालयहरूको अवस्था पनि मुख्यमन्त्री कार्यालयको जस्तै छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र सिंचाई मन्त्रालयले पनि कार्यालयमा कर्मचारी उपस्थिति भएर सरसफाइका काम सुरु गरेको छ । सानोतिनो भुक्तानीका कामहरु पनि केही दिनपछि सुरु हुने सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका निमित्त सचिव रमेशकुमार श्रेष्ठले मन्त्रालयका सम्पूर्ण कागजात, फर्निचर र कम्प्युटर नष्ट भए पनि सेवा प्रवाहलाई निरन्तरता दिन भग्नावशेषबाटै काम थालिएको जानकारी दिए ।
मन्त्रालयको प्रशासन महाशाखा, सडक महाशाखा र भवन महाशाखामा सबैभन्दा बढी क्षति पुगेको छ । श्रेष्ठका अनुसार ती महाशाखाका सम्पूर्ण महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, फर्निचर र कम्प्युटर लगायतका सामग्रीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । ‘आगजनीबाट प्रशासन महाशाखाका सम्पूर्ण डकुमेन्टहरू लगायत फर्निचर ध्वस्त भएको अवस्था छ । कोठामा केही पनि काम लाग्ने अवस्थामा छैन,’ उनले भने, ‘सडक महाशाखाको पनि सम्पूर्ण डकुमेन्ट, टेबुल, कुर्सी, कम्प्युटर र फर्निचरहरू ध्वस्त भएको अवस्था छ भने भवन महाशाखाको पनि सम्पूर्ण डकुमेन्टलगायत टेबुल, कुर्सी र फर्निचरहरू ध्वस्त भएका छन् ।’
यस्तो विषम परिस्थितिका बाबजुद मन्त्रालयले आफ्नो कामलाई निरन्तरता दिने प्रयास थालेको छ । ‘हामीले दैनिक प्रशासनका कामहरू सुरु गरिसकेका छौं,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता क्षतिको यकिन विवरण संकलन गर्नु हो । हामी त्यसैमा जुटिरहेका छौं ।’

उता सामाजिक विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति भएकाले त्यहाँ व्यवस्थापनको काम केही अघि बढेको छ । आर्थिक मामिला मन्त्रालयमा पनि क्षति कम छ । वन, पर्यटन तथा आन्तरिक मामिला मन्त्रालयहरूले पनि क्षतिको मुचुल्का तयार पार्नेछन् ।

क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको प्रदेश सचिव पौडेलले बताइन् । ‘आज भरेसम्ममा कति भवनहरू मर्मत गरेर चलाउन सकिन्छ र कति पूर्ण क्षति भयो भन्ने प्रारम्भिक रिपोर्ट आउँछ,’ प्रमुख सचिव पौडेलले भनिन्, ‘तर यसको विस्तृत विवरण आउन अझै केही समय लाग्नेछ ।’ सरकारले मुचुल्काको काम सकिएपछि जलेका गाडी र अन्य फोहोर हटाएर कार्यालय सञ्चालन गर्न मिल्ने कोठाहरूको खोजी गर्नेछ । यदि कुनै पनि कोठा प्रयोग गर्न नसकिने अवस्था आएमा वैकल्पिक स्थानबाटै सेवा प्रवाहलाई निरन्तरता दिइनेछ ।