विराटनगर । देशव्यापी रूपमा फैलिएको ‘जेनजी’ आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको कार्यालयलगायत अधिकांश सरकारी संरचनामा व्यापक आगजनी र तोडफोड भएको छ । महानगरको भवन पनि खरानीमा परिणत भएको छ । यो संकटको घडीमा महानगरका मेयर नागेश कोइराला अस्ट्रेलिया भ्रमणमा छन् । उनी तत्काल फिर्ता नभएको भन्दै उनको आलोचना सुरु भएको छ ।
भदौ २३ र २४ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलनले विराटनगरसहित देशैभरी उग्ररूप लिएको थियो । आन्दोलनकारीहरूले विराटनगर महानगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, कोशी प्रदेशसभा भवन, मन्त्रालयहरू र अन्य सरकारी कार्यालयहरूमा आगजनी गरेका थिए । जसबाट अर्बौंको क्षतिभएको छ । महानगरपालिकाका महत्वपूर्ण कागजात, सवारी साधन, र भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
यस्तो विपत्तिको समयमा मेयर कोइराला भने अस्ट्रेलियामै रहेको भन्दै आलोचना सुरु भएको छ । उनी भदौको तेस्रो साता गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संस्थाले आयोजना गरेका कार्यक्रमहरूमा सहभागी हुन अस्ट्रेलिया गएका थिए । उनको भ्रमणको उद्देश्य विराटनगरको विकासका लागि लगानी भित्र्याउने र त्यहाँ रहेका नेपाली समुदायसँग सहकार्य गर्नु रहेको बताइएको छ ।
आन्दोलनले महानागरलाई ध्वस्त बनाइरहँदा मेयर फिर्ता नआएपछि उनको अनुपस्थितिलाई लिएर प्रश्नहरू उठेका छन् । टेलिफोन सम्पर्कमा मेयर कोइरालाले फर्कने टिकट नपाएकाले आउन ढिलाइ भएको प्रतिक्रिया दिएका छन् । यसअघि इजरायल–इरान युद्धका बेला आफ्नो भ्रमण छोट्याएर फर्किएका कोइराला यसपटक भने संकटको घडीमा नफर्किने देखिएको भन्दै आलोचना भइरहेको छ ।
मेयरको अनुपस्थितिमा उपमेयर शिल्पा निराला कार्कीले महानगरको कामकाज सम्हालिरहेकी छन् । उनले कर्मचारी र जनप्रतिनिधिहरूसँग छलफल गरी त्रिपाल टाँगेर भएपनि अत्यावश्यक सेवाहरू सुचारु गर्ने प्रयास गरिरहेको बताएकी छन् । उपमेयर कार्कीले अस्पताल सिफारिस जस्ता जरुरी सेवा नरोक्न निर्देशन दिएको र सबै वडाहरूलाई क्षतिको विवरण संकलनगर्न लगाएको जानकारी दिएकी छिन् । आइतबार जनप्रतिनिधि र कर्मचरीले छलफल गरेर अत्याआश्यक सेवा सुरु गर्ने छलफल भएको उनले बताएकी छन् । उपमेयरका अनुसार विराटनगरका १४, १५, १६, १७, १८ र ८ नम्बर वडाबाहेक अन्य सबै वडा कार्यालयहरू पनि ध्वस्त भएका छन् । यतिबेला महानगरको सेवाप्रवाह पूर्ण रूपमा ठप्प भएको छ ।
विराटनगर महानगरपालिकामा उपप्रमुखको कार्यकक्ष बाहेक अन्य सबै कार्यकक्षमा तोडफोड र आगजनी भएको छ । डोजर, मिनी–ट्रकसहित विपद् व्यवस्थापनमा प्रयोग हुने सवारी साधनहरू पनि जलेर नष्ट भएका छन् । नगरवासीहरूले महानगर पुनर्निर्माणको अनिश्चित भविष्यको सामना गरिरहँदा नगर प्रमुखको अनुपस्थितिप्रति चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।

