विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटका कारण क्षतिग्रस्त बनेको जिल्ला अदालत मोरङले दशैँपछि मात्र मुद्दाको नियमित सुनुवाइ गर्ने भएको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै असोज २० गतेदेखि मात्र मुद्दाको सुनुवाइ सुचारु हुने जानकारी दिएको हो ।
आन्दोलनको क्रममा अदालत भवनमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको छ । भौतिक संरचना खण्डहर बनेको र दशैँको बिदा पनि परेकाले असोज २० गतेसम्मका लागि अदालतको सेवा आंशिक रुपमा मात्र सञ्चालन गरिने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएका छन् ।
यो अवधिमा अदालतले सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी जारी गर्ने जस्ता अत्यावश्यक सेवा भने प्रदान गर्नेछ । यद्यपि, मुद्दाको नियमित सुनुवाइ र अन्य कामकारबाही भने दशैँपछि अर्थात् असोज २० गतेबाट मात्र सुरु हुने अदालतले जनाएको छ ।
अदालतले जारी गरेको सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।’ जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको जिल्ला र उच्च अदालतसहित विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमा पनि आगजनी र तोडफोड भएको थियो, जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।


