उदयपुर । जेनजीको आन्दोलनका कारण यातयात ठप्प हुँदा उदयपुरका किसानका खेतबारीमा उत्पादन भएका तरकारी कुहिन थालेका छन् । जिल्लाको कटारी नगरपालिकाका पहाडी क्षेत्रका किसानले व्यवसायिक रुपमा उत्पादन गर्दै आएको तकारी बारीमै कुहिन थालेको हो ।
यति वेला किसानको बारीमा अकबरे खुर्सानी, काउली, टमाटर, स्कुस, रायोको साग उत्पादन छ । कटारी नगरपालिका–११ कृषक उद्धव राउतले आन्दोलनका कारण यातयात ठप्प भएपछि अकरे खुर्सानी, काउली विक्री हुन छाडेको बताए । उनले भने, ‘म दश वर्षअघिदेखि मौसमी तथा बेमौसी तरकारी खेती गर्दै आएको छु । झण्डै १६ रोपनी जग्गामा मात्र अकबरे खुर्सानी लगाएको छु । त्यसमा काउली र टमाटर पनि छ । वार्षिक रुपमा तरकारी खेतीबाट खर्चसहित ९÷१० लाख कमाउँदै आएको हुँ । तर, यसपालिकाको बन्दा कारण मारमा परेको छु । अब अहिले खुल्छ होला ?’
जेनजीको आन्दोलनपछि उदयपुरमा कपर््mयू र निषेधाज्ञा लागू भएको छ । बजार क्षेत्रका सडकमा नेपाली सेनाको गस्ती छ । यातयात ठप्प छ । यातयात ठप्प भएपछि ग्रामिण क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजको बिक्री रोकिएको छ । कटारी नगरपालिका–१०, ११ र १३ नम्वर वडा मौसमी तथा बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रमा पर्दछ । झण्डै १५ वर्षअघिदेखि तरकारी खेतीमा रमाउँदै आएका यस क्षेत्रका कृषक अहिले मारमा परेका छन् ।
गहुँबारी तरकारी संकलन तथा विक्री केन्द्रका अध्यक्ष केशव बस्नेतले जेनजीको आन्दोलनभन्दा अघि दैनिक रुपमा १९ देखि २५ क्विन्टलसम्म तरकारी तथा खुर्सानी विक्री हुने गरेको बताउँदै अहिले ठप्प भएको बताए । उनले भने, ‘अहिले यातयात बन्द भएपछि सबै ठप्प भएको छ ।’
उनका अनुसार त्यस गहुँबारी क्षेत्रमा उत्पादन भएको अकबरे खुर्सानी तथा तरकारी सिद्धचरण लोकमार्गबाट घुर्मीबजार हुँदै मध्यपहाडी लोकमार्गबाट काठमाडौं पुग्ने गरेको थियो । विराटनगर, धरान, जनकपुर जस्ता सहरमा ढुवानी पनि रोकिएको छ । उनले थप्दै भने, ‘धेरै मात्रमा अकबरे खुर्सानी, टमाटर, काउली, रायोको साग विक्रीको लागि तयारी अवस्थामा छ । तर, बन्द नखुलेकाले विक्रीमा समस्या छ ।
कठमाडौं, विराटनगर, धरानबाट ठूला थोक व्यापारीहरुले अहिले आउन नसक्ने र विक्री गर्न पनि नसक्ने खवर पठाउन थालेको गहुँबारी तरकारी संकलन तथा विक्री केन्द्रका अध्यक्ष बस्नेतले गुनासो गरे । उनले भने, ‘सबैतिर ठप्प छ । कृषिमै रमाइरहेकाहरु पनि समस्यामा पर्न थालेका छन् ।’
आन्दोलन अघि प्रतिकिलो पाकेको अकबरे खुर्सानी दुईसय र हरियो ८०÷९० रुपैँयामा विक्री हुँदै आएको थियो । तर, त्यो पनि घटाएर बेच्छु भन्दा पनि व्यापारी नआउने गरेको सोही क्षेत्रका संकलन केन्द्रहरुको भनाइ छ । यता दशैँको सोह्रश्रद्धा सुरु भइसकेको छ ।
यता उदयपुरको ग्रमिण क्षेत्रका खसी बोका अहिले धमाधम विक्री हुनु पर्ने हो । तर, सहरी क्षेत्र पुरै बन्द भएको कारण व्यापारीहरु गाउँ आउन छाडेको उदयपुरगढी गाउँपालिका–१ का मनोज खत्री बताउँछन् । उनि भन्छन्, ‘मेरो घरको बाख्राको खोरमा झण्डै विक्रीको लागि १५ देखि १९ खसी छन् । दसैँको सोह्रश्रद्धा सुरु भएको छ । तर, विक्री हुने छाटकाट छैन । गाडीहरु चलेका छैनन् ।’
उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारस फुयँलले दसैँको लागि खसी बोका विक्री हुने समयमा आन्दोलनका कारण यातयात बन्द हुँदा किसान समस्यामा परेको बताए । उनले भने, ‘खसी बोका अब विक्री हुने समय सुरु भयो । तर, बन्दको कारण कतै पनि विक्री भएको जानकारी आएको छैन् । तर, यो बन्दा एक हप्ता लम्बियो भने खसी बोका विक्री गरेर दसैँ मनाउने कृषक समस्या पर्दछन ।’
उदयपुरमा जेनजीको आन्दोलनपछि यातयात ठप्प छ । त्रियुगा नगरपालिकाको कार्यालयसहित जिल्लाका दलका कार्यालय, त्रियुगा नगरपालिकाका मेयर र उपमेयरको घरसमेत तोडफोड आगजनी भएको छ ।

