कोशीका कृषिमन्त्री हाङ्गामले खोसे सचिव पाण्डे चढ्ने गाडीको चावी

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डे चढ्ने गाडीको चावी खोसेका छन् ।

आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले सोमबार मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चावी चालकमार्फत खोसेका हुन् ।

चावी खोसिएकोे सचिव पाण्डेले स्वीकार गरेका छन् । मुख्यमन्त्रीसँग छलफलका लागि पुगेका पाण्डेले छलफल सकेर निस्कन खोज्दा गाडी नदेखेपछि सवारी चालकलाई फोन गरेका थिए । तर, चालकको फोन अफ थियो । मन्त्रालयमा बुझ्दा मन्त्रीको दबाबमा चावी खोसिएको थाहा भएको उनले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयबाट पाण्डे मोटरसाइकल बोलाएर मन्त्रालय पुगेका थिए । मन्त्री हाङ्गाम र सचिव पाण्डेबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । मन्त्रीले करारका ड्राइभर हटाउने र आफ्ना मान्छे नियुक्ति गर्ने प्रयास गरेका थिए । जसलाई सचिवले अस्वीकार गरेकोले विवाद भएको हो ।

यस्तै झापामा भएको कर्मचारीबीचको विवादमा पनि मन्त्री र सचिवबीच असमझदारी भएको थियो । विवाद बढ्दै जाँदा सचिव पाण्डेको केही समय अगाडि सरुवा भएको थियो । यद्यपि सचिव पाण्डेको सरुवा फेरि थमौति भएको छ ।

पाण्डेले सरुवा थमौती गरेको झोंकमा चावी खोसेको मन्त्रालयका कर्मचारीले बताएका छन् । ‘मन्त्रीले यो मेरो राज्य भन्दै कर्मचारीलाई थर्काउने र दादागिरी देखाउने गरेका छन्,’ एक कर्मचारीले भने, ‘अब हामी सहन सक्दैनौं ।’ सचिव पाण्डेले यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी दिएको बताइएको छ ।

भदौ १६, २०८२, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर