इप्रका रानीमा श्रमिकमाथि निर्घात कुटपिट प्रकरण :प्रहरीकै हातबाट अत्याचार, पीडितहरुले दिए उजुरी


विराटनगर । नागरिकको सुरक्षाका लागि खटिने प्रहरी आफैं सर्वसाधारणलाई कुटपिट गरेर हैरानी बनाएपछि पीडित श्रमिकहरू न्यायको लागि हारगुहार गरेका छन् ।

पछिल्लो घटनामा कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ‘रिट’ (Region Investigation Team) मा कार्यरत प्रहरी हवल्दार दावा शेर्पा लामाले तीनजना श्रमिकमाथि कुटपिट गरेको आरोप छ।मोरङको बुढीगंगा गाउँपालिका–४ का श्रमिकहरूलाई रानीस्थित इलाका प्रहरी कार्यालयमा बोलाएर बुट, पाइप र लात्ताले निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ ।

प्रहरी हवल्दार लामाले बिहीबार दिउँसो ट्रान्सफर्मर चोरीको आशंकामा श्रमिकहरूलाई बोलाएर शारीरिक यातना दिएका हुन् । घाइते हुनेमा ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया रहेका छन् । ती तीनै जना श्रमिकहरू ‘जनसेद मिया मल्टीप्रपोज प्रालि’ मा कार्यरत छन्, जसले मोरङ र सुनसरी क्षेत्रमा ट्रान्सफर्मर जडान तथा मर्मतको काम गर्दै आएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका नासिर मियाको कानको भित्री भागमै चोट लागेको छ । पीडितको भनाइमा, कुटपिटपछि प्रहरीले उल्टै धम्की दिँदै भनेका थिए, “कसैलाई भनिस भने लागूऔषध राखेर मुद्दा हालिदिन्छौं ।”
भयको कारण घर फर्किए पनि नासिरको अवस्था झन् बिग्रिएपछि उनलाई तत्काल दुहबी हुँदै विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । हाल उपचारपछि उनलाई घर लगिएको सञ्चालक जनसेद मियाले जानकारी दिए ।

पीडित श्रमिक भन्छन्– ‘‘हामी अपराधी होइनौं, काम गर्ने मजदुर हौं’’

कुटपिटको शिकार बनेका श्रमिकहरू दैनिक ज्यालादारीमा काम गरेर जीविका चलाउँदै आएका सर्वसाधारण हुन् । उनीहरूविरुद्ध कुनै प्रमाण वा उजुरी नभएको अवस्थामा समेत प्रहरीले अनुसन्धानको नाममा सडकमै हिड्ने जनतालाई कुटपिट गर्नु गम्भीर अपराध हो ।
घाइते कासी शर्माले भने, ‘‘हामीलाई ट्रान्सफर्मर चोरीको आरोप लगाएर बोलाइएको थियो । तर बोलाउने बहानामा छुट्टाछुट्टै कोठामा लगेर पाइपले हान्न थाले । हाम्रो अपराध के थियो ?’’

प्रहरीकै हातबाट अत्याचार, पीडित बाध्य भएर उजुरीमा पुगे

बिना कारण आफ्ना कर्मचारीलाई प्रहरीले कुटपिट गरेपछि कम्पनी सञ्चालक जनसेद मिया आफैं प्रहरी प्रशासनमा धाउन पुगेका छन् । उनले मोरङ जिल्ला प्रहरी कार्यालयमा शुक्रबार औपचारिक उजुरी दर्ता गरेका छन् ।
‘प्रहरीमा विश्वास गरेर गएपनि त्यहीँबाट हातपात भयो । अब हामी कहाँ न्याय माग्ने ?’ सञ्चालक मियाको गुनासो छ । उनले भने, ‘‘जनताको सुरक्षामा खटिने प्रहरीबाटै असुरक्षित महसुस भयो । यस्तो अत्याचार सहनै सकिन्न ।’’

पटकपटक विवादमा मुछिने लामा

कुटपिटमा संलग्न प्रहरी हवल्दार दावा शेर्पा लामा यसअघि लागू औषध ब्युरोमा कार्यरत थिए । ब्युरोमा रहँदा पनि उनी पटकपटक विवादमा तानिएका थिए । अहिलेसम्मकै व्यवहार हेर्दा उनी प्रहरीभन्दा बढी धम्क्याउने गुण्डाको शैलीमा काम गर्दै आएका देखिन्छन् । रिट जस्तो संवेदनशील अनुसन्धान टोलीमा पठाइएपछि पनि उनले आम नागरिकमाथि अनुसन्धानको नाममा बर्बरतापूर्ण व्यवहार दोहोर्‍याइरहेका छन् ।

मोरङ प्रहरीले भन्यो– ‘‘छानबिनमा छौं’’

पीडितहरूले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुडालले घटनाको पुष्टि गर्दै आवश्यक छानबिन सुरु गरिएको जानकारी दिइन् ।
‘‘हामीले पीडितको उजुरी लिएका छौं, घटनाबारे बुझ्ने काम भइरहेको छ । दोषी पुष्टि भएमा कारबाही अगाडि बढाइनेछ,’’ उनले भनिन् ।

तर पीडितहरूलाई भने न्याय अझै टाढाको कुरा लागिरहेको छ । उनीहरू भन्छन्, ‘‘हामीमाथि कुटपिट हुँदा न त कुनै पक्राउ आदेश थियो, न त हाम्रोविरुद्ध प्रमाण । अनि किन यस्तो बर्बरता ?’’
कुनै प्रमाणविना, कुनै औपचारिक प्रक्रिया विना बोलाएर कोठामै बन्द गरी लछारपछार गर्नु कानुनको घोर उल्लङ्घन हो । पीडितलाई न्याय नदिने हो भने यस्तो मनपरी प्रहरीलाई छुट दिने व्यवस्था हुने खतरा छ ।
पीडित पक्षले प्रहरी हवल्दार दावा शेर्पा लामालाई तत्काल निलम्बन गरी निष्पक्ष अनुसन्धानको माग गरेका छन् । उनीहरू भन्छन्, ‘‘उनीजस्ता व्यक्तिलाई प्रहरीमै राख्नु नागरिकको सुरक्षामाथि खेलवाड हो ।’’
यस विषयमा मानवअधिकारवादी निकाय तथा नागरिक समाजले पनि चासो व्यक्त गर्दै निष्पक्ष छानबिन र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका छन् ।

साउन २, २०८२, रातीको ११:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर