जेलबाट निस्किएपछि झनै उग्र ‘मन्टु’ : पीडितको चिच्याहट प्रशासनसम्म पुग्यो

मन्टुलाई उपस्थित गराउन मोरङ प्रहरीलाई प्रशासनको पत्र

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका मन्टु नामले परिचित संजय प्रसाद रौनियार विरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले जिल्ला प्रशासन कार्यालय जिल्लामा सामूहिक उजुरी दिएका छन् ।
उनीहरूका अनुसार, मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेका भन्दै १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।
उनले चिठीमार्फत पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दवाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहो¥याइरहेका छन् । यही आरोपसहित १२ जना पीडितले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।


सुनवर्षी नगरपालिका–४ निवासी अमित कुमार यादवका अनुसार, जेलबाट छुटेपछि मन्टुले फेरि पुरानै तरिकाले आतंक मच्चाउन थालेको बताए । उनी हुलाकमार्फत पत्र पठाएर जग्गा बिक्रीको पैसा मागिरहेका छन् । ‘नदिए कानुनी फन्दामा पार्ने धम्की दिन्छन्,’ उनले भने ।
पीडितको उजुरीपश्चात जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको गम्भीरता बुझेको बताउँदै कानुनी प्रक्रिया अघि बढाएको छ । उजुरीमा उल्लिखित आरोपहरूको अध्ययन र सत्यतथ्य बुझ्नका लागि प्रशासनले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले भने, ‘सर्वसाधारणले गुनासो दिएपछि दुवै पक्षलाई छलफलमा बोलाएका छौं । छलफलपछि सत्यतथ्य पत्ता लगाएर आवश्यक निर्देशन दिनेछौं ।’
प्रशासनले ११८०३ नम्बरको चलानीमा जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रमा, ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाइएका संजय प्रसाद रौनियारलाई छलफलका लागि उपस्थित गराइदिनु’ अनुरोध गरिएको छ ।


पुरानो मुद्दा : मिटरब्याज पीडित १७ जनाको उजुरीपछि पक्राउ २०७७ मंसिर २९ मा मोरङ प्रहरीको अनुसन्धानपछि मन्टुलाई ठगी र आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको थियो । उनीविरुद्ध १७ जना पीडितले जाहेरी दिएका थिए ।
२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुईवटा मुद्दा—ठगी र आपराधिक लाभ—दायर भए । प्रहरीले बुझाएको प्रतिवेदन अनुसार, मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए ।
तत्कालीन जिल्ला न्यायाधीश इश्वर पराजुलीको इजलासले माघ २० गते मन्टुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी मोरङ कारागार चलान भएका थिए ।
फैसला हुनुअघि अदालतको आदेशमा बकपत्र को प्रक्रिया सुरु भयो । त्यसक्रममा मन्टुले पीडितहरूसँग सहमति गरी, उनीहरूको नाममा रहेका जग्गा फिर्ता गरिदिने कबुल गरेका थिए ।
सहमति अनुसार मन्टुले श्रीमती ज्योती रौनियारमार्फत हस्ताक्षर गराई १७ जनाकै जग्गा फिर्ता गरिदिए । पीडितहरूका अनुसार, उक्त सहमतिअनुसार साँवा र ब्याजसहित बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए ।
२०७९ जेठ ९ गते तत्कालीन जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुलाई दुवै मुद्दाबाट सफाइ दिएपछि उनी जेलमुक्त भए ।
जेलमुक्त भएको दुई वर्षपछि पुनः मन्टुले १७ जना पीडितमध्ये ११ जनालाई हुलाकमार्फत पत्र पठाएर पुनः पैसा माग्न थालेका छन् । ती पत्रमा “फिर्ता गरिएको जग्गाको रकम अझै बाँकी रहेको” भन्दै तोकिएको रकम बुझाउन चेतावनी दिइएको छ ।
यही क्रियाकलापले त्रास फैलिएको भन्दै १२ जना पीडितले प्रशासनमा उजुरी दिएका हुन् । उजुरीकर्ताहरूको भनाइमा, मन्टुले हुलाकमार्फत पठाएको पत्र, धम्की दिने फोनकल र बीचमा तेस्रो व्यक्ति खटाएर दबाब दिने जस्ता कार्यले उनीहरूमा पुनः मानसिक पीडा बढेको छ ।
पीडित अमित भन्छन्, ‘मन्टु जेलबाट छुटे पनि उसको प्रवृत्ति उस्तै छ । उसले हामीजस्तै सर्वसाधारणलाई कानुनी डर देखाएर पैसा असुल्न खोज्दैछ । हामी फेरि त्यही दुःख भोग्न सक्दैनौं ।’


सोमबार प्रशासनमा उपस्थित हुन्छु : मन्टु
प्रशासनमा उजुरी परेको जानकारी आफूलाई पनि आएको बताउँदै मन्टुले प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म आफैँ पनि छलफलमा जान तयार छु । सोमबार प्रशासनमा उपस्थित हुन्छु । मैले विक्री गरेको जग्गाको रकम मात्र मागेको हुँ ।’
उनको दाबी अनुसार, आफुले पहिले दिएको जग्गा पुनः बिक्री भएपछि सोको रकम माग्नु गैरकानुनी नभएको हो । तर पीडितहरू भने पूर्व सहमति र न्यायिक प्रक्रिया अनुसार सबै बक्यौता मिलिसकेको दाबी गर्छन् ।

बिहिबार, ०५ असार, २०८२, रातीको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर