लोड हुँदैछ...

मेनु

ऋषिकेशपत्नी जोडिएको मुद्दाको पेशी सरेको सर्यै,‘अनुकूल इजलास’को खोजी !

ऋषिकेशपत्नी जोडिएको मुद्दाको पेशी सरेको सर्यै,‘अनुकूल इजलास’को खोजी !

विराटनगर । नेकपा एमालेका नेतातथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको सहकारी ठगी मुद्दाको सुनुवाइ लगातार चौथो पटक स्थगित भएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा बिहीबार चढेको पेशी प्रतिवादीका कानून व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।जिल्ला अदालत मोरङले कोइरालासहित सो मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा यसअघि उच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको थियो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाई हुनुपर्नेमा लगातार सुनवाई स्थगित गराइएको छ ।
जिल्ला अदालत मोरङले कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अन्य ६ प्रतिवादीलाई ५० हजारदेखि ५ लाखसम्म धरौटीमा छाडिएको छ । अब यो मुद्दाको अर्को पेशी आगामी बिहीबारको लाति तोकिने उच्च अदाल अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

यसअघि जेठ ८ गते उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा पेशी चढेको थियो । प्रतिवादीका कानून व्यवसायीले निवेदन दिएपछि त्यो स्थगित भयो । त्यसअघि जेठ १ गते पनि न्यायाधीश नन्दकै इजलासमा पेशी चढेको थियो । त्यो पनि स्थगित गराइएको थियो । त्यसअघि मुद्दाको पेशी २५ वैशाखमा न्यायाधीश कृपासुर कार्कीको इजालासमा चढेको समयमा पनि प्रतिवादीका कानून व्यवसायीले निवेदन दिएपछि पेशी स्थगित भएको थियो ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी ठगी मुद्दामा मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग राख्दै उच्चमा निवेदन दिएको थियो । वैशाख ११ गते उच्चका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको इजलासमा मुद्दाका सुनुवाई हुँदा उनीहरुको राय बाझिएपछि तेस्रो न्यायधीशको इजालासमा पेश गर्न आदेश भएको थियो ।

अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबीच जिल्लाकै धरौटी कायम गर्ने कि बढाउने भन्ने विषयमा राय बाझिएको थियो । पुडासैनीले जिल्लाकै आदेश सदर हुनुपर्ने राय दिएकी थिइन् भने न्यायधीश बाँस्तोलालो अञ्जलालाई १ करोड धरौटी माग्नुपर्ने राय दिएका थिए ।

न्यायाधीश बाँस्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही एक करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश दिएका थिए । न्यायाधीश श्रीधराकुमारी पुडासैनीले भने अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छाड्ने जिल्ला अदालतकै आदेश सदर गरेकी छन् ।

न्यायाधीश बाँस्तोलाले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र पूर्वसञ्चालक रोशन राजवंशी पूर्पक्षका लागि कारागार चलान भएकोमा सञ्चालक रहेकी अञ्जलासहितलाई १० लाख धरौटीमा छाड्न नमिल्ने राय लेखेका छन् । दुई जनालाई पुर्पक्षमा राख्ने जिल्लाको आदेशमा भने दुबै न्यायाधीशको एकमत रहेको छ ।

न्यायाधीशको राय बाझिएको केशमा तत्काल मुद्दाको सुनुवाई भएर आदेश हुने गरेकोमा उमागौरीको केशमा पेशी लगातार स्थगित गराउने काम भइरहेको छ । प्रतिवादीका कानून व्यवसायीले विशेष कारण देखाउँदै निवेदन दिएर पेशी स्थगित गर्दै आएका छन् । यसरी लगातार पेशी स्थगित गर्नुको कारण अनुकुल इजलाशको खोजी भएको कानुन व्यवसायीहरुले नै बताएका छन् ।

‘यसरी प्रतिवादीका कानून व्यवसायीले पटक–पटक निवेदन दिएर पेशी स्थगित गर्नुले आफू अनुकूलको इजलाश खोजी गरेको आशंका छ,’ एक कानून व्यवसायीले भने, ‘अदालतको नियमावलीले २ पटकसम्म पेशी स्थगित गर्नमिल्ने सुविधा दिएकोले धेरै प्रतिवादी भएको मुद्दा भएको कारण फरक–फरक प्रतिवादीका कानुन व्यवसायीले निवेदन दिएर पेशी स्थगित गरेका हुन् ।’
उच्च अदालत नियमावलीको दफा ८६ को उपदफा २ मा काबुभन्दा बाहिरको परिस्थिति भएमा कुनै एक पक्षका लागि दुई पटकसम्म मुद्दाको सुनुवाई स्थगित गर्न पाउने व्यवस्था छ । ‘मुद्दा पेस भएको दिनको इजलास बस्नुभन्दा पहिले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कुनै कारण देखाई मुद्दाको पक्ष वा कानून व्यवसायीले निवेदनपत्र दिएमा अवस्था अनुसार पेसी व्यवस्थापन समिति वा सम्बन्धित इजलासले मुद्दाको एक पक्षको लागि बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाइ स्थगित गर्न सक्नेछ’ उपदफा (२) मा उल्लेख छ ।

उच्च अदालत विराटनगर बारका अध्यक्ष विश्वराम भट्टराईले नियमावली अनुसार दुई पटक मुद्दा स्थगित गर्ने व्यवस्था रहेको बताए । नियमावलीमा बाहेक अन्य कानून तथा कार्यविधिमा मुद्दा स्थगित गर्ने व्यवस्था छैन । तर, लगाउको कारण देखाउँदै चौथो पटक सुनुवाई स्थगित हुनुको कारण एकअर्कामा रिलेटिभ धेरैवटा मुद्दा हुनु भएको उनले जानकारी दिए । यस्तो मुद्दामा प्रत्येक प्रतिवादीका कानून व्यवसायीहरूले दुई–दुई पटक सुनुवाई स्थगित गर्ने गरेको बताउँदै उनले त्यसबारे नियमावलीमा भने व्यवस्था नभएको उल्लेख गरे ।

बरिष्ठ अधिवक्ता हेमराज पन्तले पेशी धेरै कारणले सर्ने बताउँदै नेपालमा जुडिसियरी नै नभएको बताए । अदालत पार्टीहरुको सिण्डिकेटको रुपमा रहेको आरोप लगाउँदै उनले प्रश्न गरे, ‘के हुन्छ त्यहाँ ?’ कानून र संविधान लागू नभएकोले नियमावली लागू नभएको उनको भनाइ छ ।

मुद्दामा नेपाल सरकारको तर्फबाट पैरवी गर्दै आएका उच्च सरकारी वकिलको कार्यालय विराटनगरका उपन्यायाधिवक्ता लेखनाथ ढकालले पटक–पटक मुद्दाको पेशी प्रतिवादीका कानून व्यवसायीका कारण सरेको बताए । ‘यसरी पटक–पटक पेशी सर्दा हामी पनि छक्क परेका छौं,’ उनले भने, ‘अर्को बिहीबार पेशी फेरि चढ्छ । त्यसबेला नसर्ला ।’ कुन कारणले पेशी स्थगित भयो भन्नेबारे जानकारी नभएको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता डिल्ली दाहाल कानूनले दिएको अधिकार प्रयोग गरेर पेशी सार्ने गरिएको बताउँछन् । ‘प्रतिवादी बिरामी परेको, शोकमा बसेको वा कुनै विशेष कामले कतै जानुपरेको कारण देखाएर कानून व्यवसायीले निवेदन दिएपछि तीन पटकसम्म पेशी सार्न पाइन्छ,’ उनले भने, ‘तर, त्यो परिस्थिति प्रमाणित हुनुपर्छ ।’

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर, अञ्जला पक्राउ परिनन् । उनी अदालतमा उपस्थित भएकै दिन बयान र थुनछेक बहसपछि धरौटीमा छुटेकी थिइन् ।

सहकारी ठगी मुद्दामा एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् । उमागौरी कृषि सहकारीमा ८ हजार ८४२ जना शेयर सदस्य थिए । शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८०० सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।