विराटनगर । कोशी प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट खरिद गरेको कृषि औजार मोरङको रतुवामाई नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेको भन्दै किसानलाई वितरण गरेको पाइएको छ ।
प्रदेश सरकारले वित्तीय हस्तान्तरण अन्तरगत किसानहरुलाई कृषि औजार तथा उपकरण उपलब्ध गराउन चालु आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ स्रोत उपलब्ध गराएको थियो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बुधबार किसानहरुलाई कृषि यन्त्र उपलब्ध गराएको हो । बुधबार नगरपालिकाको कृषि शाखाले कृषि औजार वितरण गर्दा ब्यानरमा प्रदेश सरकारको स्रोतबारे कुनै विवरण उल्लेख गरिएको थिएन भने कार्यक्रममा पनि नगरपालिकाले किसानको हितमा कृषि औजार उपलब्ध गराएको भन्दै प्रसंसा गरिएको थियो ।
प्रदेश सरकारले जनताको पक्षमा काम नगरेको भन्दै संघीयताकै विरोध भइरहेको सन्दर्भमा प्रदेश सरकारले किसानहरुको हितमा उपलब्ध गराएको स्रोत र कार्यक्रमहरु स्थानीय तहहरुले गुमनाम गरिदिँदा नजतामा नकारात्मक सन्देश गएको भन्दै प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती ‘सुशिल’ले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘प्रदेश सरकारले दिएको स्रोतलाई प्रदेशबाट आएको हो भन्न किन गाह्रो भएको हो ? आखिर जहाँबाट जसले ल्याएको भए पनि रतुवामाईकै किसानहरुले प्राप्त गरेका छन्, यस्ता अरु धेरै स्रोत ल्याउन सम्बन्धित सरकार र त्यसका लागि पहल प्रयत्न गर्नेहरुलाई त अझ उत्साहित बनाउँदा पो यहाँका किसानहरुलाई बढी फाइदा हुन्छ होला त !’
गतवर्ष बजेट निर्माणका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रत्यक्ष निर्वाचित सांसदहरुसँग २ करोड रुपैयाँ बराबरको योजना माग गरेका थिए । त्यस अन्तरगत तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री उप्रेतीले सुनवर्षी नगरपालिका र रतुवामाई नगरपालिकाका किसानहरुलाई कृषि यन्त्र उपलब्ध गराउनका लागि ५०-५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरी योजना सिफारिस गरेका थिए । बाँकी रहेको एक करोड रुपैयाँबाट सडक निर्माणको योजना अगाडि सारेका थिए । ‘त्यसबेला मैले दुवै पालिकाका मेयरहरुसँग सल्लाह गरेर यो योजना अगाडि बढाएको हुँ । नगरपालिकाकोसमेत लगानी थपेर किसानहरुलाई यन्त्र उपकरण उपलब्ध गराउन र आवश्यक परेमा नगरपालिकाले बजेटसमेत थपेर किसानलाई सहुलियत दिन दुवै पालिकाका मेयरहरु सहमत हुनुभएपछि किसानको हितमा सांसदको तर्फबाट योजना सिफारिस भएको हो । तर अहिले नगरपालिकाले प्रदेशको स्रोतका बारेमा जनतालाई सूचना नै दिएन भन्ने सुनियो, यो राम्रो होइन,’ उनले भने ।
रतुवामाई नगरपालिकाले बुधबार ६७ लाख रुपैयाँ मूल्य बराबरको १५० थान घाँस काट्ने मेसिन, ३०० थान स्प्रे ट्याङ्की, ११२ थान मकै छोडाउने मेसिन, १६५ थान मकै रोप्ने औजार किसानहरुलाई हस्तान्तरण गरेको थियो । किसानहरुबाट ५० प्रतिशत रकम लिएर ती औजारहरु वितरण गरेको कृषि शाखाकी कर्मचारी तारा ज्ञवालीले जानकारी दिइन् । उनले कृषक समूहको माग बमोजिम सामान वितरण गरिएको जानकारी दिइन् । कृषि फर्महरुलाई भने मागका आधारमा एक एक थान सामान उपलब्ध गराइएको उनले बताइन् ।
रतुवामाई नगरपालिकाले उक्त औजार खरिद गर्न १ करोड १० लाख रुपैयाँ मूल्यांकन गरी बोलपत्र आव्हान गरेको थियो । त्यसमा ठेकेदार कम्पनीको तर्फबाट ४० प्रतिशत मूल्य कम गरेर ठेक्का परेपछि ६७ लाख रुपैयाँमा उक्त सामान आपूर्ति गर्ने सम्झौता भएको थियो । त्यसबाट बचत भएको ४३ लाख रुपैयाँ बराबरको सामान खरिद गर्न नगरपालिकाले फेरि पनि ठेक्का नकालेको थियो । त्यसमा पनि ४० प्रतिशत जति नै कममा ठेक्का परेको र करिब ६५ लाख रुपैयाँ बराबरको सामान आउने क्रममा रहेको नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तरगत नगरपालिकालाई प्राप्त भएको स्रोतबाट खरिद गरेको सामग्री वितरण गर्दा किसानहरुलाई स्रोतको बारेमा जानकारी दिने विषयमा नगरपालिकाको तर्फबाट कमजोरी भएको प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले बताए । उनले भने, ‘यसको स्रोतको बारेमा मलाई पहिले थाहा भएन किनभने म यहाँ भर्खरै आएको हुँ, तर वितरण गर्दागर्दै मैले जानकारी पाएँ र त्यसमा त्रुटी भयो भन्ने तत्काले महशुस गरें, हामीले प्रदेश सरकारबाट प्राप्त स्रोत भनेर कार्यक्रममै भन्दा राम्रो हुन्थ्यो, अर्को यसका लागि पहल गर्ने प्रदेशसभा सदस्यलाई पनि कार्यक्रममा बोलाउँदा झनै राम्रो हुन्थ्यो ।’ उनले दोस्रो लटको सामान आउने क्रममा रहेकोले त्यो वितरण गर्दा अहिले भएको कमजोरी सच्याउने बताए । नगरपालिकाको नेतृत्व र सिंगो पालिकाले यो कुरा महशुस गरिसकेको उनले बताए ।

