लोड हुँदैछ...

मेनु

उमागौरी सहकारी ठगी प्रकरण : मुद्दाको पेशी चौथो पटक पनि स्थगित

उमागौरी सहकारी ठगी प्रकरण : मुद्दाको पेशी चौथो पटक पनि स्थगित

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारी प्रकरणको ठगी मुद्दाको पेशी चौथो पटक पनि स्थगित भएको छ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णु प्रसाद अर्यालको इजलासमा बिहीबार चढेको पेशी प्रतिवादीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो। आजसँगै चौथो पटक यो मुद्दाको पेशी सरेको छ।यसअघि उच्च अदालतका कार्यवाहक मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा दुई पटक पेशी चढेको थियो। प्रतिवादीको कानून व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो ।

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै ७३ नम्बरको निवेदन दिएको थियो। ११ वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझिएको थियो। अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबीच थुनामा पठाउने कि नपठाउने भन्ने सम्बन्धमा होइन, धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाझिएको थियो। त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा पेशी चढेको थियो। दुई पटकसम्म मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा पेशी चढेपछि प्रतिवादीको कानून व्यवसायीले हटाउँदै आएका छन् ।

यसअघि न्यायाधीश केशवप्रसाद बास्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश गरेका थिए। तर न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेकी छिन् । न्यायाधीश बास्तोलाले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पूर्पक्षमा पठाएको हकमा पनि सहमत भएका छन् ।

जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्जलासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा ७३ नम्बर गरेको छ। मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।

गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए। शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो। सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ। हाल सहकारी बन्द अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।