विराटनगर । राजावादी आन्दोलनमा लाग्ने दुई कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदस्यबाटै हटाउने निर्णय गरेको छ ।
कोशीका निलम्बित प्रदेश सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीलाई पार्टीले सदस्यबाट पनि हटाएको हो ।
सचिवालयको निर्णयलाई केन्द्रीय समितिमा अनुमोदनका लागि लैजाने निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । प्रदेश सभापतिलाई केही समयअघि पार्टी अनुशासन आयोगले नै निलम्बन गरेको थियो । उनीहरूले गत वैशाख १७ गतेबाटै स्वतन्त्र राष्ट्रवादी विचार समूह भन्दै रास्वपाको चुनाव चिह्न घन्टी राखेर हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाको अभियान घोषणा गरेका थिए ।
पार्टीका सम्पूर्ण सदस्यहरू समान हैसियतमा रहेको र प्रत्येक सदस्यलाई आफ्नो विचार व्यक्त गर्दै पार्टीको नेतृत्व तहमा बसेर काम गर्ने अधिकार सुरक्षित रहेको भन्दै उनीहरु राजावादी आन्दोलनमा लागेका थिए । पछिल्लो समयमा राजावादीको आन्दोलन भइरहेको बेला रास्वपाले कित्ता क्लियर नगरेको भन्दै प्रश्न उठिरहेको बेला राजावादी आन्दोलनमा लाग्नेमाथि कार्वाही गर्दै रास्वपाले आफू गणतन्त्रको पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।
कार्वाहीमा परेका मैनाली गर्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । कार्वाहीमा परेकाहरुले यसअघि पार्टीको कार्वाहीमा परेका महामन्त्री डा.मुकुल ढकालको पक्षमा पैरवी गर्दै आएका थिए ।

