लोड हुँदैछ...

मेनु

मोरङ र सुनसरीबाट ठूलो परिमाणको गाँजा बरामद

मोरङ र सुनसरीबाट ठूलो परिमाणको गाँजा बरामद

विराटनगर । मोरङको ग्रामथान र सुनसरीको हरिनगरबाट प्रहरीले ठूलो परिमाणको अबैध लागुऔषध गाँजा बरामद गरेको छ ।
हरिनगरस्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाइराखेको ठूलो परिमाणको गाँजा बरामद भएको हो । मंगलबार राति तस्करहरूले भारततर्फ लैजानलाई खोलाको बगरमा बालुवाले छोपेर राखेको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी गाँजा बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

तस्करहरुले हरिनगर गाउँपालिका ५ र ६ को सिमानामा रहेको खोला किनारमा गाँजा राखेको सूचना पाउना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । टोलीले १ हजार १२० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा प्रहरी चौकी घुस्कीमा राखिएको छ ।

खोजतलास गर्ने क्रममा बालुवामुनि गाडिरहेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरिएको हो । गाँजा राख्ने समूहको पहिचान गरि पक्राउ गर्न प्रहरी परिचालन गरिएको सुनसरी प्रहीले जनाएको छ ।

यस्तै मंगलबार राति प्रहरीले ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३४७ किलो गाँजा बरामद गरि ओसारपसार र कारोबारमा संलग्न भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत रहेका छन् ।

इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गर्दा उनीहरु प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा उनीहरुले गाँजा लुकाएर राखेको पत्ता लागेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरुले दिएको बयानका आधारमा गाँजा बरामद गरिएको हो । उनीहरु पक्राउ परेको स्थान नजिकै ‘ह्युम पाइप’मा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । प्लाष्टिक र बोराका १२ वटा पोकामा ‘प्याक’ गरेर लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
फोटो

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।