लोड हुँदैछ...

मेनु

एमालेको ‘झोले’ अभियानप्रति कार्यकर्ताको असन्तुष्टि

एमालेको ‘झोले’ अभियानप्रति कार्यकर्ताको असन्तुष्टि

विराटनगर । नेकपा एमालेले सुरु गरेको ‘म झोले हो’ अभियानप्रति पार्टीभित्रकै नेता र कार्यकर्ताहरूले असन्तुष्टि जनाउन थालेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोष्टर राखेपछि एकथरी नेता तथा कार्यकर्ताले पनि त्यहि सिको गरिरहेका छन् । तर, बहुसंख्यक नेता तथा कार्यकर्ताले त्यसप्रति असन्तुष्टि जनाएको पाइएको छ ।

पार्टीको कुनै निर्णय र परिपत्र नभएपनि ओलीपछि एमालेका उपाध्यक्ष रहेका अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवालीसहितका नेताहरुले ‘म झोले हो’ भन्ने पोष्टर बनाएर शेयर गरेका छन् । अनौपचारिक रुपमा एमालेले सबै नेता तथा कार्यकर्तालाई अभियानमा सरिक हुन भनिरहेको छ ।

पार्टी नेतृत्वले थालेको अभियानले पार्टीकै छवि गिराएको भन्दै कतिपय नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । त्यहि भएर एमालेका धेरै नेता तथा कार्यकर्ताहरु यो अभियानमा सरिक भएको देखिएको छैन । खासगरी केपी ओलीनिकट भनिएका सीमित नेता तथा कार्यकर्ताबाहेकले यो अभियान रुचाएका छैनन् ।

मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष तथा एमालेका नेता सुमन मिरिङचिङ मगरले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हामी त वामपन्थी हो, झोले सोले होइन’ । उनले आफ्नो स्टाटसमा हात मिलाएको तस्बिर राखेर पार्टीको वैचारिक पहिचानमाथि प्रश्न उठाएका छन् । सोमबार लेखेको स्टाटसप्रति पार्टीकै नेताहरुले आपत्ती जनाएपछि मंगलबार भने उनले हटाएका छन् । स्टाटस हटाउनु व्यक्तिगत कारण भएको बताउँदै मगरले आफू झोले अभियानको विपक्षमा रहेको बताए ।

नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य तथा कानेपोखरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शुशील बुढाथाकीले सामाजिक सञ्जालमा ‘म एमाले’ लेखेर झोले अभियानको सांकेतिक विरोध गरेका छन् । गत फागुनमा भएको एमाले मोरङको १०औं जिल्ला अधिवेशनमा संस्थापन प्यानलबाटै जिल्ला सदस्य निर्वाचित उनले पनि ओलीले सुरु गरेको अभियान मन नपराएको देखिएको छ ।

केरावारी गाउँपालिका एमाले अध्यक्ष भीम कार्कीले लामो स्टाटस लेख्दै झोले अभियान अनावश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्षज्यू हाम्रो नेतृत्व हो । तर, उहाँका हरेक बोली–बाणीलाई रूप मानेर पछ्याउनु नै असल कार्यकर्ता हुनु हो जस्तो लाग्दैन मलाई ।’

नेकपा एमाले नेतृत्व, नेता र कार्यकर्ताको गल्तीलाई औँल्याउने र आलोचितहरूले गल्तीको स्वीकारोक्तिसहित आफ्नो व्यवहार सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् । कार्कीले आजकल ठूलो स्वरमा जिन्दावाद भन्नेहरूलाई मात्र असल कार्यकर्ता भनिने प्रवृत्तिको आलोचना गर्दै पार्टीमा अवसरवादी प्रवृत्तिको वृद्धि भएको आरोप लगाएका छन् ।

एमालेकै बेलबारी नगर उपाध्यक्ष उदयबहादुर राई (राजु)ले नेताकै कारणले गणतन्त्र खतरामा परेको बताएका छन् । उनले भनेका छन्, ‘सबैले नैतिकवान बनेर काम गरे, नेतृत्वले जिम्मेवारीपूर्वक आफ्नो जिम्मा पूरा गरे, जनप्रतिनिधिहरूले जनताप्रति जवाफदेही बने भने हामी कार्यकर्ताले झोले भन्नु नै पर्दैन ।’गल्ती नेताहरूले गर्ने अनि झोले आफूहरु बन्नुपर्ने भन्दै उनले आलोचना गरेका छन् । नेताहरूको चरित्र र व्यवहारले नै लोकतन्त्रमा संकट निम्त्याएको उनको आरोप छ ।

कोशी प्रदेशका पूर्वसांसद रहेका एमाले नेता विमल कार्कीले शिशिर योगीको ‘झोले र चम्चेहरु….’ गीत सेयर गर्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘शिशिर योगीले गाएको यो गीतलाई किन अहिले आफ्नै साबिती बयान बनाउँदैछौं ?’
मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयको आलोचना गरेपछि कार्कीलाई नेकपा एमाले कोशी प्रदेश कमिटीले कारबाही गर्ने निर्णय गरेको थियो । पुस २७ गते विराटनगरमा बसेको एमाले प्रदेश समितिको बैठकले नेता कार्कीलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

पार्टीका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्षअघि चलाएको ट्रेन्डको नक्कल ओलीले गरेको भन्दै आपत्ती पनि जनाएका छन् । एमालेभित्र पछिल्लो समयमा नेतृत्वको आलोचना र फरकमत निषेध रहेको भन्दै आलोचना भइरहेको बेला ओलीले झोले अभियान चलाएपछि उनीमाथि आलोचना झनै बढेको छ । नेपाली राजनीतिमा ‘झोले’ शब्दलाई नेतृत्वको दास, नेताको आलोचना नगर्ने, नेताले जे भने पनि जयजयकार गर्ने अर्थमा बुझिन्छ ।

नकारात्मक पर्यायमा रहेको ‘झोले’लाई आफ्नो ब्राण्ड बनाउन ओलीले खोजेपछि कतिपय विश्लेषकले भने ओलीले सत्य स्वीकार गरेको भन्दै व्यंग्य गरेका छन् । अहिलेको सरकार र एमाले नेतृत्व विचौलिया र दलालको झोले रहेकोले त्यहि स्वीकारोक्ति ओलीले गरेको उनीहरुको भनाइ छ ।

ओलीले चलाएको अभियानलाई एमालेकै केहि पदाधिकारी र सीमित कार्यकर्ताबाहेक अन्यले स्वीकार नगरेको देखिएको छ । एमालेको कोशी प्रदेशमा रहेका नेताहरुमध्ये स्थायी समिति सदस्य राजेन्द्र गौतमले म झोले हुँ भन्ने पोष्टर बनाएका छन् भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओलीकै पोष्टर शेयर गरेका छन् । प्रदेशका इञ्चार्ज शेरधन राईले पनि झोले पोस्टर बनाएका छैनन् ।
एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफूहरु पार्टीको झोले नै भएको भन्दै यसबारे अध्यक्षले चलाएको अभियान सरकारात्मक भएको जिकिर गरे । अवसरवादीहरुले पार्टीको अभियानको विरोध गरेको उनको भनाइ छ । खतिवडाले झोले अभियानको समर्थन गरेपनि पोष्टर भने बनाएका छैनन् ।

नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राईले झोले अभियानबारे नेतृत्वलाई सोध्न भन्दै आफू झोले नभएको बताएका छन् । ‘म झोले हैन, अभियानबारे नेतृत्वलाई नै सोध्नुहोला’ उनले भने ।

नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले पार्टी नेतृत्वले थालेको अभियानबारे कुनै प्रतिक्रिया नरहेको बताउँदै आफू समाज र विकासको झोले भएको बताएका छन् । ‘म समाजको र विकास अभियानको झोले हो, अरु मलाई थाहा छैन’ उनले भने । थापा एमालेको संस्थापन इतर पक्षका नेता हुन् ।

खासगरी विद्या भण्डारी निकट भनेर चिनिएका नेता तथा कार्यकर्ताहरु यो अभियानमा सरिक नभएको पाइएको छ । ओलीले शुरु गरेको ‘म झोले हो’ भन्ने अभियानले पार्टीभित्रको गुटगत कित्ताकाटलाई थप मलजल गरेको देखिएको छ ।

ओलीनिकट नेता कार्यकर्ताहरुले ‘म झोले हो’ भन्ने तस्विरसहितको पोष्टलाई ‘भाइरल’ बनाइरहेको बेला एमाले राजनीतिमा फर्किने तयारी गरिरहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी समर्थकहरुले भने अभियानको विरोध गर्न थालेका छन् । विरोध नगरेका नेता कार्यकर्ताहरुले पनि सो अभियानलाई बेवास्ता गरिरहेका छन् । एमालेका पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलसहित उपाध्यक्षहरु गुरु बराल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यसहितले झोले पोष्टर बनाएका छैनन् ।

एमाले नेता गोकुल बाँस्कोटाले त झोले अभियानप्रति आपत्ती जनाएका छन् । अभियानप्रति आपत्ती जनाउँदै उनले एमाले कार्यकर्ताले कसैले झोले भन्दैमा त्यसलाई गलत प्रमाणित गर्न अरु कुनै कुराको सहारा लिनु नपर्ने उनको भनाइ छ ।
नेतृत्वको बक्रदृष्टिमा परिने डरले अधिकांश नेता कार्यकर्ताहरुले ओलीले शुरु गरेको उक्त ‘क्याम्पेनिङ’ को ठाडै विरोध गर्न सकेका छैनन् । कतिपय नेता तथा कार्यकर्ताले इच्छा नभएपनि पार्टीको निर्देशन भएकोले झोले हुँ भन्न बाध्य भएको बताएका छन् । खासगरी एमालेबाट विभिन्न नियुक्ति पाएका र लाभको पदमा रहेकाहरुले यस्तो बाध्यता औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।