विपद् प्रतिकार्यका लागि प्रभावित क्षेत्रको नक्सांकन गरिने

विराटनगर । कोशी प्रदेश सरकारले विपद् प्रतिकार्यको योजना बनाइरहेको जनाएको छ । विपद् प्रभावित क्षेत्रको नक्सांकन गरेर प्रतिकार्य गर्ने ढंगबाट योजना तयार भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले बताए । विपद् जोखिम तथा प्रभावित क्षेत्रको नक्सांकनका आधारमा सरकारले आवश्यक तयारी अगाडि बढाउने उनको भनाइ थियो ।

‘विज्ञहरूबाट आएको सुझाव र प्रतिवेदनको अध्ययनबाट स्थानीय तहलाई समेत समन्वय गरेर बजेटमै व्यवस्था गरेर अगाडि बढ्ने छौँ,’ मन्त्री भण्डारीले भने । उनका अनुसार यस वर्ष विपद्बाट प्रतिकार्य र पुनः निर्माणका सन्दर्भमा प्रशासनिक खर्चबाट बजेट काटेर वितरण गर्नुपर्ने अवस्था आएका कारण वितरणमा ढिलाइ र समस्या भएकोले आगामी वर्ष त्यसो हुने छैन ।
‘हामीले विपद्सम्बन्धी ऐन नै संशोधन गरेर पूर्वाधार सम्बन्धी काममा पुनः निर्माण काम हुने छ । यसअघि चालु खर्चबाटै कटाएर विपद् बाट क्षति भएका खास गरी पूर्वाधार क्षेत्रमा पुनः निर्माणको काम गरेका छौँ,’ भण्डारीले भने ।

कोशी प्रदेशमा विज्ञसहितको टोलीले विपद् जोखिम क्षेत्रको नक्सांकन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुभाष कार्कीका अनुसार उक्त प्रतिकार्य योजना प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरिरहेको छ ।

बिहिबार, १६ जेठ, २०८२, बिहानको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर