विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले विरोधाभाष र प्रतिबद्ध नभएको जमातमा बस्दा आफूलाई हीनताबोध भएको बताएका छन् ।
विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले राजनीतिक जीवनमा धेरै काम गरेको भएपनि विगतमा आफूले गरेको काममा पनि पश्चात्ताप रहेको बताए । ‘मैले राजनीतिक जीवनमा धेरै काम गरेको छु । दुई पटक मोरङको सभापति भएँ । दुई पटक केन्द्रीय सदस्य र दुई पटक माननीय भएँ । मलाई अहिले रिग्रेट फिल भएको छ,’ उनले भने, ‘मैले गुरु घिमिरेलाई हराएर उद्धवजीलाई प्रदेश सभापतिमा जिताउने काम गरेँ । त्यो मेरो राजनीतिक भूल थियो ।’
कांग्रेसको पहिलो कोशी प्रदेश अधिवेशनमा अर्यालले गुरु घिमिरेलाई हराउन उद्दव थापालाई सघाएका थिए । पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइराला सहभागी कार्यक्रममा उनले आफूले भूल गरेको बताए । यसअघि अर्याल कोइराला क्याम्पसबाट देउवा क्याम्पसमा पुगेका थिए । अहिले पुनः कोइराला क्याम्पसमा आएको चर्चा छ ।
सोही चर्चाकाबीच उनले विराटनगरको राजनीतिक कल्चरमा हुर्किएको राजनीतिकर्मी भएको हुँदा आफू अर्को राजनीतिक कल्चरमा जाँदा फरक अनुभव भएको पनि बताए । प्रदेश सांसदको रूपमा अढाई वर्ष अवधि पार गर्दा संसदमा बोल्न पनि नसकेको उनले बताए । ‘त्यहाँ म जम्मा एक पटक बोलेको छु । हामीजस्तो सक्रिय मानिसले त्यसरी कैद जस्तो बन्नु पर्दा के भएको होला ?,’ अर्यालले भने, ‘मैले लड्नु हुँदैन थियो तर, बाध्यताबस लड्नु प¥यो । यद्यपि जनताले जे म्यान्डेट दिएका छन्, त्यसलाई सम्मान गर्नु नै प¥यो । अब म एक्सपोज भएरै काम गर्छु ।’
उनले कोशी प्रदेश सरकारमा र प्रदेशसभामा कांग्रेसले अवमूल्यन भएर काम गर्नु परिरहेको पनि बताए । कांग्रेसले प्रदेशको नामकरणमा पनि एमालेको निर्णयमा भोट हाल्न बाध्य भएको र आफ्नो निर्णय गर्न नसकेको उनले बताए ।
‘दलका नेता उद्धवजीलाई हामीले प्रस्ताव ग¥यौँ कि जातीय पहिचानको पक्षमा उभिनु प¥यो कि कोशीको पक्षमा उभिनु प¥यो भनेको थिएँ । तर, पछि एमालेले गरेको निर्णयमा भोट हाल्यौँ । यस्तो कन्ट्रोभर्सी, प्रतिबद्ध नभएको जमातमा बस्दा मलाई हीनताबोध पनि भएको छ,’ अर्यालले भने, ‘त्यो काम गर्ने शैली पनि छैन । कुराकानी शेयर पनि भएको छैन । अहिलेसम्म २६–२७ वटा नियुक्ति भयो होला । त्यस विषयमा कुनै जानकारी हुँदैन । कसैको खल्तीबाट नाम निकालिन्छ र नियुक्ति गरिन्छ । हामीले प्रेसमा पढेर थाहा पाउनु पर्छ ।’