कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस

सहिदको सपना पूरा गर्न राजनीतिक नेतृत्व इमान्दार हुनुपर्ने

विराटनगर । नेपालमा जनपक्षीय पत्रकारिताको पर्यायको रुपमा परिचित सहिद कृष्ण सेन इच्छुकको तेह्रौं स्मृति दिवसको सन्दर्भमा कोशी प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

प्रेस सेन्टर नेपालले देशभर इच्छुकको स्मृति दिवसमा कार्यक्रम गर्ने निर्णय कार्यान्वयन गर्दै प्रदेश समिति र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् ।कोशी प्रदेश समितिको आयोजना तथा मोरङको संयोजनमा विराटनगरमा सहिद कृष्ण सेन इच्छुक र गणतन्त्र विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक गोपिबहादुर अछामीले सहिद कृष्ण सेन इच्छुकले साहित्य, पत्रकारिता र जनसांस्कृतिक अभियानमार्फत देशमा व्याप्त अन्याय, अत्याचारका विरुद्ध कलम मार्फत विद्रोह गर्दा शासकहरुले कायरतापूर्ण हत्या गरेको बताए ।

कृष्ण सेन इच्छुकले कानुनी र वैधानिक रुपमा पत्रकारिता गर्दागर्दै पनि तात्कालीन सरकारले पटक पटक पक्राउ गरेको, यातना दिएको र हत्या गरेको भन्दै इच्छुकको सवालमा जुनसुकै विचार राख्नेहरुले पनि उहाँलाई उच्च सम्मान प्रकट गरेको पाउँदा सन्तोष लागेको उनले बताए । नेता अछामीले व्यक्तिको हत्याले उसको विचार मार्न नसकिने भन्दै गलत प्रवृत्तिका विरुद्धमा संघर्ष अनिवार्य हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जनपक्षीय पत्रकारिताको माध्यमबाट वर्तमान व्यवस्थालाई अझ मजबुद बनाउनु पर्ने बताए । उनले त्यसका लागि सबै वामपन्थी र गणतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमले परिवर्तनको आवाज बन्द गर्नका लागि तात्कालीन सरकारले कृष्ण सेन इच्छुकजस्ता स्वतन्त्रताको आवाज बोल्ने पत्रकारहरुको हत्या गरेको र त्यसबेला झण्डै ३६ जना पत्रकारहरुको त्यसरी हत्या भएको बताए ।कार्यक्रममा प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठले इच्छुकप्रति श्रद्धा व्यक्त गरे । उनले सहिद इच्छुकको सपना पूरा गर्न राजनीतिक दलका नेताहरु सच्चिनु पर्ने बताए ।

प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष सुमन पुरीले सहिदले देखेको सपना पूरा गर्न नेताहरु इमान्दार भएर काम गर्नुपर्ने र जनतामा उत्पन्न भएको निराशालाई चिर्दै अगाडि बढ्नु पर्ने बताए ।समाजवादी प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेलले गणतन्त्र स्थापनाका लागि जनपक्षीय पत्रकार इच्छुकले जीवन बलिदानी दिएको र राणा शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आउँदा धेरैले बलिदानीपूर्ण संघर्ष गर्नुपरेको स्मरण गरे । उनले इच्छुकको सपना साकार पार्न परिवर्तनकारी शक्तिहरुले इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुसिला पाठकले, प्रेस सेन्टर नेपाल कोशीका अध्यक्ष राजन समिप राईलगायतले इच्छुकको योगदानलाई स्मरण गरेका थिए ।

बुधबार, १५ जेठ, २०८२, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर