खानेपानीमा राजनीतिकरण : मानगढ खानेपानी चुनावले एमालेमा ल्याएको भुइँचालो

नेता विनोद ढकाल पक्षलाई तेस्रो सफलता

विराटनगर । विराटनगर–३ मा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचन एक वर्षसम्म चर्चामा रहयो । यही खानेपानीको निर्वाचनले एक हिसावले भन्ने हो भने मोरङ एमालेभित्र भुइँचालो नै ल्यायो । खानेपानीको अध्यक्षको उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा एमालेको अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्ष र नेता विनोद ढकाल पक्षबीचको कित्ताकाट र विवाद पनि छताछुल्ल भयो ।

खानेपानीकै निर्वाचनमा समर्थन गरेको आरोपमा एमाले विराटनगरमा तत्कालिन सागर थापाको नेतृत्वको कमिटी समयावधि अगावै विघटन गराइयो । २०८१ जेठ १९ गते सम्पन्न खानेपानीको निर्वाचनमा अध्यक्षमा उम्मेद्वार बनेका रामबहादुर घिमिरेलाई एमालेको संस्थापन पक्षले समर्थन गरेको थियो । नेता ढकाल–थापा पक्षले भने लालमणि भट्टराईलाई समर्थन ग¥यो ।
त्यही कारण देखाएर संस्थापन पक्षले थापासहित एमाले विराटनगरका उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ अध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यबाट समेत निलम्बन गरियो । सोही प्रकरणमा पार्टी जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीलाई स्पष्टीकरण सोधियो ।

खानेपानीको निर्वाचनबाट बढ्दै गएको विवाद एमाले मोरङको अधिवेशनमा पनि देखियो । गत फागुन अन्तिम साता भएको १० औं जिल्ला अधिवेशनमा ढकाल पक्षले सागर थापाहरुलाई गरेको कारबाहीबाट मुक्ति पाउन न्याय दिनुहोस् भन्दै पार्टीको निर्वाचनमा एजेण्डा बनाए । फलस्वरुप ढकाल पक्षबाट एमाले मोरङको अध्यक्ष अजम्बर राईसहित उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा विजयी बने । अघिल्लो जिल्ला समितिको कारबाहीमा परेका थापासहितको टोलीलाई कार्यकर्ताको भारी मतले विजयी बनाएपछि संस्थापन पक्षले ठूलो धक्का महसुस गर्यो भने ढकाल पक्षलाई पहिलो राहत मिल्यो ।

त्यसको झण्डै डेढ महिनापछि वैशाखको पहिलो साता भएको विराटनगर महानगरपालिकाको निर्वाचनमा पनि मानगढ खानेपानीको विवाद र कारबाहीको विषय एजेण्डा बन्यो । पुनः ढकाल–थापा पक्षबाट उमेदवार बनेकाहरु भारी मतका साथ बिजयी बने । महानगर समितिमा संस्थापनको विपक्षमा रहेकाहरुको तर्फबाट अध्यक्षमा बलराम गिरी, उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाइँ, उपसचिवमा हमिद आजाद र महिला उपसचिवमा हिमा मैनाली पोखरेल विजयी बने । महानगरको पनि पदाधिकारीमा प्यानलै जित निकालेको ढकाल पक्षका लागि यो दोस्रो सफलता थियो भने संस्थापन पक्षलाई दोस्रो धक्का थियो ।

उता, मानगढ खानेपानी उपभोक्ता समितिको २०८१ जेठ १९ गते सम्पन्न मतदान विवादित बनेको थियो । सो विवाद उच्च अदालत विराटनगरमा पुग्यो । अदालत पुग्ने लालमणि भट्टराईसहितको टोलीले फर्जी मतदान गरेको आरोप लगाएको थियो । अदालतले भट्टराईहरुको माग बमोजिम मतगणना रोकिदियो भने पुनः निर्वाचन गराउने अन्तिम निर्णय सुनाइदियो । फलस्वरुप एक वर्षपछि पुनः गत जेठ १० गते मानगढ खानेपानी उपभोक्ता समितिको अर्को निर्वाचन भयो । अदालतले उम्मेद्वारहरु भने पहिलेकै कायम राख्ने फैसला सुनाएको थियो । सोही अनुसार भएको निर्वाचनमा एमालेको संस्थापन पक्षले समर्थन गरेका उम्मेद्वार रामबहादुर घिमिरे र संस्थापनको विपक्षमा रहेका ढकाल–थापा समूहबाट बागी विद्रोही उम्मेद्वार बनेका लालमणि भट्टराईबीच पुनः प्रतिस्पर्धा भयो । प्रतिस्पर्धामा भट्टराईले घिमिरेलाई भारी मतका साथ पराजित गरे । यो ढकाल–थापाको तेस्रो सफलता थियो ।

पार्टीको जिल्ला अधिवेशनमा ८८८ जना पार्टी प्रतिनिधिले मतदान गरेका थिए । नगरमा भने ३०८ जनाले मतदान गरेका थिए । मानगढ खानेपानीमा भने आम उपभोक्ता ३ हजार ९६४ जनाले मतदान गरेका छन् । यो मत परिणामले एमाले मोरङमा संस्थापन पक्ष पार्टी कार्यकर्ता माझमा मात्रै नभएर आम जनतामा पनि अलोकप्रिय बन्दै गएको छ र बागी विद्रोही पक्ष दह्रो बन्दै गएको सन्देश दिएको छ ।

मानगढको इतिहास

मानगढ खानेपानी उपभोक्ता संस्थाको इतिहास लामो छ । यो संस्थाको संस्थापक अध्यक्ष उनै रामबहादुर घिमिरे हुन् । खानेपानीमा वार्षिक २ करोड ५० लाख हाराहारी कारोबार हुन्छ । घिमिरेले २०४७ सालदेखि नै पानी अभियान सुरु गरेका थिए । ‘२०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएपछि पानी अभियानलाई थप सशक्त बनाएको हुँ,’ घिमिरेले भने ।
पहिलो चरणमा एउटा ड्युब टुबेलबाट निर्माण सुरु भएको मानगढ खानेपानी हाल विराटनगरमा सबैभन्दा स्वच्छ पानी उपलब्ध गराउने संस्थाको रुपमा स्थापित छ । संस्थाले विराटनगरका साथै बुढीगंगामा पनि पानी वितरण गर्दै आएको छ । संस्थामा झण्डै ६ हजार उपभोक्ताहरु जोडिएका छन् ।

यो संस्थामा सरकार र जापानीज संस्था जाइकाले पनि लगानी गरेको छ । हाल पनि ३० प्रतिशत उपभोक्ताबाट र सरकारले ७० प्रतिशत लगानी गर्नेगरी संरचनाहरु थप हुँदै गएका छन् । घिमिरे हालसम्म चारवटा कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका थिए । यस पटक प्रतिस्पर्धा भएको निर्वाचनमा उनी पराजित बने । ‘हालसम्म पटकपटक गरेर करोडौं रुपैयाँ लगानी भएको छ,’ उनले भने, ‘थप लगानी गर्नुपर्ने अवस्था छ । म पनि नेतृत्व हस्तान्तरण गर्ने पक्षमै थिएँ । अहिले जस्तो परिणाम आएको छ त्यसमा मेरो कुनै असन्तुष्टि या दुःख छैन ।’

खानेपानीको निर्वाचनमा नेताहरुले जनताको अपेक्षा नबुझी जबर्जस्ती राजनीतिकरण गरेको निर्वाचनमा बिजयी बनेका अध्यक्ष लालमणि भट्टराई बताउँछन् । ‘मानगढको निर्वाचनबाटै सुरु भएको एमालेभित्रको विवादले जिल्लामा, नगरमा कार्यकर्ताको भावना प्रष्फुटन भयो । जनताले पनि मानगढ खानेपानीनको निर्वाचनमा देखाए,’ भट्टराई भन्छन्, ‘समग्र भावनालाई बुझेर नेताहरु पनि अगाडि बढ्नु राम्रो हुने सन्देश यो निर्वाचनले दिएको छ ।’

घिमिरे भने ७ पार्टीका नेताहरुको गठजोडका विरुद्ध आफूले प्रतिस्पर्धा गर्नुपरेको कारण पराजय भएको दाबी गर्छन् । ‘यहाँ म एक्लो दौडमा थिएँ । एमालेका जिल्लाका नेताहरु, जनप्रतिधिहरु पनि हुल बाँधेर निर्वाचनमा भोट माग्दै हिंडेको देखियो । ठूला ठूला मोटरसाइकल र्याली भए । यसबीचमा पनि मैले ल्याएको मत सम्मानजनक हो,’ घिमिरे भन्छन् ।

मङ्गलबार, १४ जेठ, २०८२, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर