मोरङ, झापा र धनकुटाबाट ८ पक्राउ

विराटनगर । प्रहरीले लागुऔषध कारोबारमा संलग्न मोरङ, झापा र धनकुटाबाट ८ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र प्रतिबन्धित औषधिसहित मंगलबार ८ जना पक्राउ परेको जानकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले बिर्तामोड नगरपालिका–२ का ३८ वर्षीय चन्दन रवाजवंशी र २५ वर्षीय सुनील राजवंशीलाई पक्राउ गरेको छ । पक्राउ परेकाको कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रूपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१६ बाट २ जनालाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय जीतप्रसाद सापकोटा १ ग्राम २७ मिलिग्राम र महोत्तरीको बर्दीबास नगरपालिका–४ का २२ वर्षीय रविन विश्वकर्मा ४ ग्राम ८१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

त्यस्तै, धनकुटा नगरपालिका–७ बाट २५ वर्षीय अभिषेक लिम्बू, १९ वर्षीय सागर सहनी, धनकुटा–१ का २२ वर्षीय राम राई र २४ वर्षीय दावा छिरिङ तामाङ पक्राउ परेका छन् । सुरुमा अभिषेकको कोठाबाट प्रहरीले २ ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर र १० चक्की स्पास्पेन बरामद गरेको थियो ।

अभिषेकलाई नियन्त्रणमा लिएको प्रहरीले बयानका आधारमा उनलाई लागुऔषध बिक्री गर्ने अरु ३ जनालाई पक्राउ गरेको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ ।

बुधबार, ०८ जेठ, २०८२, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर