कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिको शासन

कसैका जिम्मेवारी खोसियो, कसैका बस्ने कुर्सी

विराटनगर । मनपरी ढंगबाट कर्मचारी चलाउन नपाउँदा स्थानीय तहका प्रमुखहरुले जिम्मेवार कर्मचारीहरुलाई दुःख दिने, जिम्मेवारी खोस्ने र कामविहीन बनाउने प्रवृत्ति बढ्दै गएको छ । मोरङको बेलबारी नगरपालिका र विराटनगर महानगरपालिकामा यस्तो प्रवृत्ति बढ्दै गएको छ । क्षमता भएका योग्य कर्मचारीहरुलाई आफूले भनेअनुसार काम नगरेको बहानामा जिम्मेवारी खोस्ने र बस्ने कुर्सीसमेत नदिएर अमर्यादित व्यवहार गर्ने घट्ना बढ्दै गएको देखिन्छ ।

मोरङको बेलबारी नगरपालिकाका अधिकृत महेन्द्र खड्कालाई नगरपालिकाले तीन महिनादेखि जिम्मेवारीविहीन बनाएर राखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखर सूचना दिएको आरोपमा नगरपालिकाले उनको जिम्मेवारी खोसेको हो ।बेलबारी नगरपालिकाका प्रशासन शाखाका प्रमुखको रुपमा कार्यरत उनको जिम्मेवारी गत माघ अन्तिम साता खोसेर कामविहीन बनाइएको हो ।

त्यसयता नगरपालिकाले उनलाई कुनै जिम्मेवारी दिएको छैन । उनले कार्यालयमा हाजिर गर्ने र घर फर्कने कार्यलाई दैनिकी बनाएका छन् । अधिकृत खड्काले भने, ‘कार्यालयमा अहिले मेरो कार्यकक्ष पनि छैन, मन्त्रालयतिर त बरण्डा शाखा हुन्छ क्यार, म त सडकतिर गएर बस्ने गर्छु ।’

नगर प्रमुख राईले प्रशासन प्रमुख खड्कालाई कारबाही गरेका हुन् । नगरपालिकाले सञ्चालन गरेका केही आयोजनाका बारेमा अख्तियारमा उजुरी गरेको आरोप लगाएर खड्कालाई कारबाही गरिएको थियो । नगरपालिकाका सूचना अधिकारीसमेत रहेका खड्कालाई बेलबारीको प्रस्तावित रंगशालाको डिपिआर र कोल्डस्टोर निर्माणमा अनियमितता भएको भनेर अख्तियारमा उजुरी हालेको आरोप लगाउँदै गत माघ २९ गते बसेको नगर कार्यपालिका बैठकले कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले भने खड्का कार्यालयमा नै नआउने गरेको बताए । मान्छे नै कार्यालयमा नआउने गरेकाले शाखाको जिम्मेवारी नदिएको उनले बताए । ‘उहाँ अफिस नै आउनुहुन्न । कहिले संगठनको काम भन्नुहुन्छ, कहिलेकाहिँ आउनुहुन्छ र हिँडिहाल्नुहुन्छ, उनले भने, ‘यहाँ आएर नियमित काम गर्न थालेपछि कार्यकक्ष दिन्छौं । उहाँलाई काम लगाउन हामी घरमा जाने कुरा भएन ।’

कार्यपालिकाको १२७औँ बैठकले खड्कालाई कार्यपालिकाको गोपनीयता भङ्ग गरेको तथा कार्यालयको हित विपरीत काम कारबाही गरेको आरोपमा प्रशासन शाखा प्रमुख पदबाट हटाएको हो । उनलाई अन्यत्र सरुवा लैजान समेत मेयरसहितका जनप्रतिनिधिले दबाब दिएका थिए । खड्का पनि तीन महिनादेखि सरुवाका लागि प्रदेश सरकारको ढोका ढक्ढक्याइरहेका छन् । तीन महिनासम्म प्रदेश सरकारले समेत उनको व्यवस्थापन गर्न सकेको छैन् ।

खड्का मात्रै होइन, विराटनगर महानगरपालिकामा झण्डै आधा दर्जन कर्मचारीको जिम्मेवारी खोसिएको छ । उनीहरू हाजिर गरेर दिन बिताइरहेका छन् । मेयर र उपमेयरले भनेअनुसारको काम नगर्दा उनीहरुलाई कामविहीन बनाइएको कर्मचारीहरु बताउँछन् ।

महानगरपालिकाका स्वास्थ्य कर्मचारी हैदर अली १५ महिनादेखि काम विहीन भएका छन् । त्यस अगाडि उनी महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख थिए । अहिले हाजिर गरेर दिन बिताइरहेको उनले बताए । २०८० को फागुनदेखि उनको जिम्मेवारी खोसिएको हो । मेयर कोइरालासँग हैदरको सामान्य विषयमा विवाद भएपछि काम खोसेर जिम्मेवारीविहीन बनाइएको हो ।

करुणा फाउन्डेसन नामक संस्थाले महानगरपालिकासहित मोरङका केही स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाको विषयमा काम गर्ने गर्छ । ‘करुणा फाउन्डेसनका प्रतिनिधि आएर बैठक भन्दै स्वास्थ्य महाशाखा प्रमुखलाई दबाब दिएछन्,’ महानगरका एक कर्मचारीले भने, ‘उहाँले तपाईंहरू सल्लाह नै नगरी आउनुभयो भनेर बैठक राख्न सकिँदैन भन्नुभएको रहेछ । त्यसपछि मेयरकहाँ गएर उनीहरूले के सुनाइदिए मेयरले मेरा पाहुनाको बेइज्जत गर्ने भनेर उहाँकोे जिम्मेवारी खोस्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको रहेछ ।’ अलीको जिम्मेवारी खोसेर उनीभन्दा जुनियर दिलिप यादवलाई उक्त शाखाको जिम्मेवाारी दिइएको छ । अली ८औं तहका हुन् भने यादव ७औं तहका कर्मचारी हुन् ।
महानगरकै आर्थिक विकास महाशाखाका प्रमुख कृष्ण पोखरेलको पनि जिम्मेवारी खोसिएको पाइएको छ । पशु विकास शाखाका प्रमुख शुकनारायण यादव पनि अहिले बरण्डा शाखातिरै हल्लिरहेका भेटिन्छन् । यादव भन्दा जुनियर कर्मचारीलाई जिम्मेवारी दिएर उनलाई भने वडा कार्यालयमा पठाइएको छ ।

यसैगरी महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । राजेन्द्र पराजुली उमेर हदका कारण गत फागुन तेस्रो साता अनिवार्य अवकाशमा गएपछि विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।विराटनगर महानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले हाजिर नगराउने बताइसकेका छन् । मेहता यसअघि इटहरीमा थिए । उनी इटहरीमा हुँदा उपमेयरसहितका एमालेबाट जितेका जनप्रतिनिधिहरूसँग विवाद भएको थियो । उनलाई विराटनगरमा रोक्नु पर्ने कुनै कारण थिएन । महानगर उपप्रमुखकै जोडबलमा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाटै छेकिएको ती कर्मचारीले बताए ।
मेयर कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठले भने सरुवा भएर आउँदा समन्वय नगरेका कारणले हाजिर हुन नदिइएको हो ।

बैशाख ३०, २०८२, दिउँसोको १२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर