बिराटनगर । किरात समुदायको महत्वपूर्ण चाड उभौली सोमबारदेखि सुरु भएको छ। प्रकृति पूजाका रूपमा मनाइने यो पर्व बिराटनगरसहित देशभर विभिन्न सांस्कृतिक कार्यक्रम र पूजापाठसहित धूमधामका साथ मनाइएको छ ।
राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात जातिहरूद्वारा मनाइने उभौली पर्वले कृषि चक्रसँग समेत गहिरो सम्बन्ध राख्दछ। वसन्त ऋतुमा लगाइने बालीको सुरुआतसँगै मनाइने यस पर्वमा किरात समुदायले देवी देवताको पूजा गर्दै राम्रो उत्पादनको कामना गर्छन् ।
वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने उभौली पर्व वसन्त ऋतुको संकेत हो भने मंसिर शुक्ल पूर्णिमामा मनाइने उधौली पर्व शरद् ऋतुको अन्त्य र जाडोको सुरुआतसँग सम्बन्धित हुन्छ। यी दुवै पर्वलाई किरात समुदायले धर्ती र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिन्छन् ।
पर्वका अवसरमा बिराटनगरमा आयोजित कार्यक्रमहरूमा किरात समुदायका अगुवा, युवा तथा महिलाहरूले परम्परागत भेषभूषामा सजिएर साकेला नाच प्रदर्शन गरेका थिए। साकेला नाच किरातहरूको सामूहिक सांस्कृतिक नृत्य हो, जसले समुदायमा एकता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको भावना अभिव्यक्त गर्दछ ।






