कानेपोखरीको विकासमा बेथिति

निर्माणमा भएको अनियमितता नागरिकद्वारा उजागर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा स्थानीय बासिन्दाको सचेतता र खबरदारीका कारण विकास निर्माणमा भइरहेको अनियमितताको घटना उजागर भएको छ । गुणस्तरहीन सामग्री प्रयोग गरी सडक नाला निर्माण गरिएको भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ता स्थानीय नागरिकले सञ्जालमा राखिदिएपछि अनियमितताको पर्दाफास भएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कानेपोखरी गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन नालामा न्युन गुणस्तरका सामग्री प्रयोग गरिएको प्राविधिक परीक्षणबाट पुष्टि भएको छ । गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीका अनुसार करिब एक सय मिटर लामो नाला निर्माणमा सिमेन्टको प्रयोग अत्यन्तै न्युन प्रयोग गरिएको पाइएको छ भने माटो मिसिएको बालुवा र ठूला–ठूला ढुंगाको प्रयोग गरिएको पाइएको छ ।

‘प्राविधिक परीक्षणबाट यो कुरा पुष्टि भएपछि हामीले तत्काल निर्माण कार्य रोकेर पहिले निर्माण गरिएको संरचना भत्काउन निर्देशन दिएका छौं,’ अधिकारीले भने । शनिबारदेखि कमसल सामग्री प्रयोग गरी बनाइएको नाला भत्काएर पुनः निर्माण कार्य सुरु गरिएको उनले जानकारी दिए ।

अलि बिल्डर्स कम्पनी इनरुवाले गत आर्थिक वर्षमा कानेपोखरी गाउँपालिकासँग वडा नम्बर ४ को गुरुङ चोकदेखि दक्षिणतर्फ ५०० मिटर डे«न निर्माणको ठेक्का लिएको थियो । स्थानीय विवादका कारण काम रोकिएपछि गाउँपालिकाले म्याद थप गरेर यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अनुमति दिएको थियो ।

सोही कम्पनीले कानेपोखरीको वडा नम्बर ६ र ७ मा पनि ५०० मिटरका दरले नाला निर्माणको जिम्मा पाएको छ । गाउँपालिकाका अनुसार तीनै स्थानमा गरी एक हजार पाँच सय मिटर नालाको निर्माण कार्यका लागि करिब १ करोड १० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

गाउँपालिकाका इञ्जिनियर दीपक गुरागाईंका अनुसार नाला निर्माणमा ६ देखि ८ मिलिमिटरसम्मका ढुंगाको प्रयोग गर्नुपर्नेमा ठेकेदारले १०० किलोग्रामभन्दा बढी तौल भएका ठूला ढुंगाहरूको प्रयोग गरेको पाइएको छ । ‘निर्माण कम्पनीले काम छिटो सम्पन्न गर्ने नाममा मापदण्ड विपरीत काम गरेको स्पष्ट देखियो,’ गुरागाईंले भने ।

स्थानीय बासिन्दाहरूले यस्तै प्रकारको गुणस्तरहीन काम अन्य स्थानमा पनि भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले यसअघि निर्माण भइसकेका संरचनाहरूको पनि प्राविधिक परीक्षण गर्न माग गरेका छन् ।‘अहिले पकडमा परेको एउटा नालामात्र होइन, यही कम्पनीले अन्य वडामा पनि निर्माण गरेका नालाहरूको गुणस्तर के कस्तो छ भन्ने कुरा पनि जाँच हुनुपर्छ,’ स्थानीय महेन्द्र गुरूङले भने ।

गाउँपालिकाले अब पुनः निर्माण भइरहेको नालाको कडाइका साथ अनुगमन गर्ने र गुणस्तर सुनिश्चित भएपछि मात्र भुक्तानी दिने प्रतिबद्धता जनाएको छ । ‘हामीले प्राविधिक टोलीमार्फत निरन्तर अनुगमन गरिरहेको छौं र मापदण्ड अनुसारको काम भएपछि मात्रै भुक्तानी प्रक्रिया अगाडि बढाउनेछौं,’ उपाध्यक्ष अधिकारीले बताए ।

यो घटनाले स्थानीय सरकारद्वारा सञ्चालित विकास निर्माणमा हुने गरेको अनियमितता र निगरानीको अभावलाई उजागर गरेको स्थानीय नागरिकहरुले बताएका छन् ।

सोमबार, २९ बैशाख, २०८२, बिहानको ०९:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर