विदेशिने र अडिने उत्तिकै

 अभय राई

विराटनगर । शहीद स्मारक ए डिभिजन लिग नभएको तीन वर्ष बितिसक्यो । चर्च ब्वाइज युनाइटेडले २०७९-८० मा उपाधि हात पारेयता लिग प्रतियोगिता आयोजना हुन सकेको छैन । मुख्य लिग नै अन्योलग्रस्त भएपछि यसमा निर्भर खेलाडी, प्रशिक्षक, पदाधिकारी, क्लबसमेत फुटबलबाट टाढा हुदै गएका छनका छन् ।

“कोही खेल नभएर टाढा भए कोहीचाहिँ फुटबलमै भविष्य खोज्दै अन्यत्र लागे,” विराटनगरबाट करिब १ हजार ७ सय ५० किलोमिटरको दूरीमा रहेको भारतको पञ्जाब प्रान्तमा रहेका मनिष तिम्सिनाले सुनाए । नेपालको विभिन्न ए डिभिजन क्लबबाट खेलिसकेका तिम्सिना यतिबेला भारतको आइएसएल खेलिरहेको पञ्जाब क्लबको गोलकिपिङ प्रशिक्षक छन् ।

२०७९ सालमा भारतबाट गोलकिपिङको लेभल २ को प्रशिक्षण सम्पन्न गरेका उनले त्यसको एक वर्षपछि मलेसिया फुटबल एसोसिएनमार्फत एएफसी लेभल ३ को प्रशिक्षण पूरा गरेका छन् । जसलाई हाल ए लेभलको प्रशिक्षण मानिन्छ । पाँच वर्ष अघिसम्म उनी तत्कालीन प्रदेश नं ६ र सुनसरीस्थित धरान फुटबल टेक्निकल एकेडेमीमा गोलकिपिङको जिम्मेवारीमा थिए । यताको जिम्मेवारी थाति राख्दै तिम्सिना आफ्नै सम्पर्कबाट भारतको केरलास्थित गोकुलम फुटबल क्लबमा गोलकिपर प्रशिक्षकमा जोडिन पुगे । त्यसयता उनले फुटबल क्षेत्रमा पछाडि फर्कनु परेको छैन ।

२०७८ सालमा गोकुलममा जोडिएका तिम्सिना व्यावसायिक प्रशिक्षकका रुपमो आइएसएलसँग आवद्ध छन् । यो भारतको टायर वान प्रतियोगिता हो । गत फागुन २८ गते विराटनगरमा सम्पन्न विराट गोल्डकपका क्रममा सहिद रंगशालामा भेटिएका तिम्सिना ४ वर्षीया छोरी र श्रीमतीलाई विराटनगरमा छाडेर विदेसिने रहर कसैको पनि हुँदैन भन्दै थिए । “नेपाली फुटबलमा इमान्दार व्यक्ति नहुँदा समस्या देखिएको हो । जसका कारण सामान्य मानिसमा समेत फुटबल खराब नै हुँदैछ भन्ने परेको छ । खेलाडी विदेशिए, लिगमा समस्या छ, पदाधिकारी विवाद सबै कुराले मानिसमा नकारात्मक सोच बनाएको छ,” उनले भने । नेपाली फुटबलले कम महत्व पाउन थाल्नु चिन्ताको विषय भएको तिम्सिनाले सुनाए ।

सरकार र खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषद्ले फुटबल प्रशिक्षक नराख्दा समस्या भएको र स्थायी प्रशिक्षक सीमित हुँदा थप समस्या चुलिएको उनको ठहर छ । धेरै प्रशिक्षक रिटायर हुने फेजमा पुग्नु र परिषद्ले नयाँ प्रशिक्षक लिन नसक्दा सम्भावना भएका खेलाडी र प्रशिक्षकहरु समेत विदेशिनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

तिम्सिना भन्छन्,“हामीले फुटबल पढ्यौ, फुटबल सिक्यौ, र फुटबललाई जीवनको आधारशीला बनायौ । तर, हामीले फुटबलमा दिएको योगदान बेवास्ता हुने गरेको छ । धेरै पीडा छन् । कतिले गरे कतिले व्यक्त गर्न नचाहेर विदेशिए । विदेशिने क्रम फुटबलका पदाधिकारीले रोक्न नसक्ने हो भने, भोलिका दिन नेपाली फुटबलको अवस्था थप विकराल हुने देखिन्छ ।”
तिम्सिनाले भारतको गोलकुलम हेरिरहँदा करिब ६ महिना नेपाली राष्ट्रिय टोलीमा गोलकिपिङको जिम्मेवारी पाएका थिए । २०८० माघ २० गते नेपाली टोलीमा आबद्ध हुँदै उनले मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि विश्वकप छनोट चरणअन्तर्गत बहराइनसंग होम एण्ड अवे र साउदी अरबमा यमन र युएइ पुगे । गोकुलममा रहँदै गर्दा राष्ट्रिय टोली हेर्ने मौका पाए । उनले एन्फालाई धन्यवाद दिने गरेका छन् । “तर, ६ महिनाको बसाइले मलाई अन्यत्र नै लग्यो । यहाँ मैले सोचे जस्तो पाइन । मलाई अनुबन्ध गर्ने भन्दै झुलाउने काम भयो । मैले भविष्य मात्र होइन परिवार पनि हेर्नु थियो । यहाँको राजनीति र झुलाईलाई पचाउन सकिन र बाध्य भएर पुनः विदेश माटोमा फर्किए,” तिम्सिनाले भने ।

एन्फाका केही उच्च पदस्थसमक्ष पटक पटक अनुबन्ध गर्न आग्रह गरेपनि ।तर, ६ महिनासम्म हुन्छ भन्ने आश्वासन मात्र मिल्यो । राष्ट्रिय टोलीमा जोडिएर अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुगेपनि उनलाई एन्फाले पत्याएन । आलटालमै समय बिताई दियो । नेपालमा विरक्तिाएका उनी अन्ततः भारतको दरिलो क्लबमा जोडिन पुगे । सरकारले समेत खेलकुदलाई ध्यान दिन नसक्दा अवसर भएरै पनि युवाहरु बाध्य भएर विदेशिनु परेको उनको बुझाइ छ ।

भन्छन्,“सरकारले प्रशिक्षकको परीक्षा गरे आफ्नै माटोमा जोडिने हुटहुटी म जस्ता धेरै युवामा छ । अवस्था त्यो छैन ।”
अस्वस्थ प्रतिस्पर्धा, राजनीतिका खिचातानी र विवादले नेपाली फुटबललाई थप समस्यामा पार्दै लगेको उनको बुझाइ छ । फुटबलसँगै क्रिकेटमा भने केही फरक दृष्य रहेका छन् । तिम्सिनाको बुझाई क्रिकेटको अधिवेशनको समयबाहेक अन्य समय विवाद छैन । उनी भन्छन्, “क्रिकेटका नियमित खेल भइरहेका छन् । पदाधिकारी र खेलाडीभित्र विवाद छैन र खेलमा समेत राम्रो नतिजा आइरहेको छ । क्रिकेटले उचाई लिइरहेको छ ।” उनले विराटनगरकै क्रिकेटर तथा प्रशिक्षक मञ्जित श्रेष्ठ, युवा खेलाडी ललित राजवंशी, युवा खेलाडी दिपेश कँडेलले शतप्रतिशत नतिजा दिदंै आएको बताए । राष्ट्रिय टोलीको अभिन्न अंगका रुपमा रहेका स्लो लेफ्ट आर्म अर्थोडक्स २६ वर्षीय ललित राजवंशीको भविष्य निकै प्रस्ट र दरिलो रहेको विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक श्रेष्ठको भनाइ छ । विगत अढाई वर्षदेखि पुलिस क्लबको प्रशिक्षकको जिम्मेवारीमा रहेका श्रेष्ठले राजवंशीलाई निकै नजिकबाट नियाल्दै आएका छन् । नेम, फेम, ग्लामर, सबै क्रिकेटमा रहेको बताँउदै उनले भने,“ललितले हिजो क्रिकेट खेल्दाको दुःखपनि देखेको छ । खेलमा मेहनत गरिरहँदा आत्तिनु र मात्तिनु नपर्ने अवस्थापनि बुझेको छ । त्योभन्दा बढशी उसले विपक्षीको विकेट कसरी लिन सकिन्छ, प्रत्येक बल फाल्दा सोचिरहेको हुन्छ ।”

विराटनगरको जतुवाबाट राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडीमा स्थापित राजवंशीपनि खेलमा राजनीति गर्न नहुनेमा जोड दिन्छन् । सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालका लागि उनी हाल महत्वपूर्ण बलरका रुपमा स्थापित छन् । केही महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले राजवंशीलाई आवद्ध गर्न नसक्दा किंग्सले चर्को आलोचना समेत खेप्नु परेको थियो । खेल र खेलाडीको स्तरोन्नतिका लागि भौतिक पूर्वाधार आवश्यक हुने बताएका राजवंशी विराटनगरमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला आवश्यक हुनुपर्नेमा जोड दिन्छन् । नेपाल पुलिस क्लबमा आवद्ध राजवंशीले हालसम्म खेलेको ३४ वटा एकदिवशीय क्रिकेटमा ४१ विकेट लिएका छन् । उनले पनि आफ्नो खेललाई बिगतभन्दा हाल निक्कै सुधार गरिसकेको प्रशिक्षक श्रेष्ठको बुझाइ छ ।

राष्ट्रिय टोलीको महत्वपूर्ण अंग बन्दै आएका ललितबारे उनले भने,“हालको फरम्यार्टमा पूर्वबाट मात्र नभएर ललितको प्रदर्शन नेपालका लागि उत्कृष्ट छ । भर्खरै पिएम कप सकियो । जहाँ उनले नेपाली क्रिकेटको इतिहासकै उत्कृष्ठ प्रदर्शन गरेकाछन् ।”
सन् १९९९ ताका उमेर समूहबाट नेपाली क्रिकेटमा प्रवेश गरेको श्रेष्ठ कुनैपनि खेललाई दाज्न नमिल्ने बताउँछन् । क्रिकेटमा अवसर बढी रहेको बताउँदै उनले भने,“अबको पिढींलाई क्रिकेटले गुनासो गर्ने अवस्था दिन्छ जस्तो लाग्दैन । क्रिकेटमा ब्यवसायिकता बढ्दो छ । यहाँ मात्र नभएर विदेशमा विभिन्न फरम्यार्टमा क्रिकेट हुन्छन् । जहाँ खेल्न नेपालीहरुपनि पुगिरहेकाछन् । खेल्नका लागि विदेश पुग्नु र फर्केर राष्ट्रिय टोलीलाई शतप्रतिशत दिन सक्नु नै क्रिकेटको अनुपमन अनुशासन हो ।”

विगतमा विराटनगरको वाइसीसी र पछिर पछि धरानको कल्याण युथ क्रिकेट क्लबबाट क्रिकेट खेल शुरुवात गरेको श्रेष्ठ अहिले प्रशिक्षकको भूमिकामा खुशी छन् । उनी भन्छन्, “खेलाडी भएर बाच्न सकिन्न भन्ने विषयपनि हुन सक्छ । तर, मेहनत अनुसारको फल हुन्छ । जिम्मेवारी र भूमिकामा सफलता पाउँदै गए खेलाडी वा प्रशिक्षक विदेशिनु पर्ने अवस्था म देख्दिन । कम्तिमा पनि क्रिकेटमा । किनभने पछिल्लो समय क्रिकेटका प्रतियोगिता असरल्ल हँुदै आएका छन् । आर्थिक पक्ष वा व्यावसायिकता दुबैमा सन्तुष्ट हुने स्थान क्रिकेटले दिदैं आएको छ ।”

उनका अनुसार राजवंशीको प्रदर्शन नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, जय ट्रफी, अर्जन ट्रफी लगायतका प्रतिष्ठि प्रतियोगितामा उत्कृष्ट रहेको छ । प्रिमियर लिगमा १७ विकेट लिन सफल राजवंशीले दुई दिवसीय जय ट्रफीमा २४ विकेट लिएका छन् । विराटनगरको सामान्य परिवारमा जन्मिएका राजंशीले प्रधानमन्त्री कपको सातौं संस्करणसम्ममा ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् ।

शुक्रबार, १२ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर