विराटनगर । कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने भएको छ। यस अगाडी वैशाख ११ गतेदेखि हुने भनिएको थियो ।
मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा परीक्षा केही दिन सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेकी छन्।
कक्षा १२ कै परीक्षाका सन्दर्भमा छलफल गर्न मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो। शिक्षकहरू विद्यालय नफर्किने अवस्था बनेका खण्डमा निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने पक्षमा बोर्ड थियो।

