कोसी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल देशमा मूख्यतया स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले बताएको छ ।

बिहिबार, ०४ बैशाख, २०८२, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर