विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले देशभर चलिरहेको आम शैक्षिक हडतालप्रति समर्थन जनाउँदै सरकारलाई शिक्षकका जायज मागहरू तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ।
प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्काद्वारा जारी विज्ञप्तिमा हालका दिनमा सामुदायिक विद्यालयका शिक्षकहरूले उठाएका मागप्रति पार्टीको गम्भीर चासो रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकको आन्दोलनलाई वेवास्ता गर्दै सरकारले सामुदायिक शिक्षालाई ध्वस्त पार्ने र शिक्षकहरूको मनोबल गिराउने नीति लिएको छ ।’
संविधान कार्यान्वयनसँगै तीन वर्षभित्र शिक्षा ऐन जारी गर्नुपर्ने प्रावधान हुँदाहुँदै सरकार पछाडि हटेको र शैक्षिक माफिया तथा कमिशनका जालोमा परेर सामुदायिक शिक्षा कमजोर पार्ने दुष्प्रयास भइरहेको आरोप नेकपा एसले लगाएको छ ।
पार्टीले एसइई उत्तरपुस्तिका परीक्षण, विद्यार्थी भर्ना अभियान तथा कक्षा १२ को परीक्षा अवरुद्ध हुने खतरा रहेको चेतावनी दिँदै शिक्षकका मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।
एकीकृत समाजवादीले शिक्षक महासंघसँग विगतमा भएका सम्झौता र सहमति अनुरूप शिक्षा ऐन जारी गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई विशेष ध्यान दिन आग्रह गरेको छ।
