धरानमा फाइट नाइट २०२५ हुने

धरान । खेलकुदको शहर धरानमा पहिलो पटक व्यावसायिक बक्सिङका राष्ट्रिय बक्सरहरूबिच च्यालेञ्ज प्रतियोगिता ‘फाइट नाइट २०२५’ हुने भएको छ ।

बक्सिङको विश्व सङ्घ आइबिएबाट मान्यता प्राप्त प्रो बक्सिङ शो धरान बक्सिङ क्लबले आयोजना गर्न लागेको हो ।
धरानका अग्रज बक्सरहरू ओलम्पियन नरेन्द्र पोमा, वरिष्ठ प्रशिक्षक अनुप लामा, विनोद राई, साफ फाइनिष्ट बक्सिङ प्रशिक्षक किशोर सम्बाहाङको उपस्थितिमा पत्रकार सम्मेलनमार्फत बुधबार आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ । धरान बक्सिङका अध्यक्ष दिपक राईले बक्सिङ खेललाई व्यावसायिक बनाउने प्रयास स्वरूप धरानमा पहिलो पटक प्रो बक्सिङ च्यालेञ्ज प्रतियोगिता आयोजनाको तयारी भइरहेको बताए ।

‘फाइट नाइट २०२५’ विश्वमा लोकप्रिय रहेको व्यावसायिक च्यालेञ्ज बक्सिङ हो । रात्रिकालीन प्रतियोगिता धरान–१५ स्थित चुम्लु हिममा वैशाख १२ गते आयोजना गरिनेछ ।पुरुष तथा महिलाको छुट्टाछुट्टै हुने बक्सिङको भिडन्त कोशी प्रदेशका बक्सरहरूलाई अन्य प्रदेशका बक्सरहरूको गर्ने च्यालेञ्जको आधारमा हुने राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक किशोर सम्बाहाङले बताए । उनका अनुसार प्रो बक्सिङ भिडन्त आइबीएको नियमानुसार ३÷३ मिनेट ४ राउण्डको हुनेछ ।
बक्सिङको भिडन्त प्रो र एमेच्योर २ विधामा हुनेछ । बक्सिङको नियमानुसार प्रो भिडन्तमा विश्राम हुँदैन, प्रतिस्पर्धी फ्लोरमा ढलेपछि मात्र अङ्क प्राप्त हुन्छ । एमेच्यारमा भने प्रतिस्पर्धी ढल्ने अवस्थामा निर्णायकले विश्रामको लागि खेल रोक्नेछ ।
प्रो–बक्सिङमा धरान, धनकुटा, झापा र उदयपुरका बक्सरहरू सहभागी हुनेछन् ।

गण्डकी प्रदेशको पोखरा र बाग्मती प्रदेशको काठमाडौँका बक्सरहरूले उनीहरूलाई च्यालेञ्ज गर्नेछन् । महिला र पुरुष दुवै राष्ट्रिय बक्सरहरूबिच अन्तर कोशी प्रदेश भिडन्त हुने जानकारी दिइएको छ । एमेच्योर विधामा धरान, धनकुटा, उदयपुर र झापाका बक्सरहरूबिच भिडन्त हुनेछ ।

धरान बक्सिङका सचिव महेश आलेका अनुसार च्यालेञ्जर बक्सरहरूको नामावली तयारीको अन्तिम चरणमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ । ‘फाइट नाइट’ मा प्रो फाईटका विजेताले नगद पुरस्कार ३५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेतालाई २५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।एमेचरका विजेताले नगद ६ हजार प्राप्त गर्नेछन् भने उपविजेतालाई नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित खर्च १५ लाख रुपैयाँ रहने आयोजकले जनाएको छ ।

चैत्र २७, २०८१, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर