विराटनगर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।
नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५५ हजार ७१२ पटकको कारोबारमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरै बढेको छ भने सिन्धु विकास बैंक र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५० करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोडभन्दा धेरैको शेयर कारोबार भएको छ भने नेपाल पुनर्वीमा कम्पनीको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.११ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ ।