ईद पर्वमा विदा दिनुपर्ने माग राख्दै मनमोहनमा विद्यार्थीले लगाए ताला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले तालाबन्दी गरेको हो ।
विश्वविद्यालयले सञ्चालन गरेको उक्त परीक्षा वास्तवमा सिटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ) अन्तर्गतको रहेको छ। विद्यार्थीहरूले इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण पर्वको दिन परीक्षा राख्नु अनुचित भएको जिकिर गरेका छन्।

रमजान महिनाको ३० दिनको (रोजा) व्रत पछि इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउने गर्दछन्। यस पर्वको मिति चन्द्रमा देखिए अनुसार निर्धारित हुने परम्परा छ। आइतबार साँझ चन्द्रमा देखिएमा सोमबार र सोमबार साँझ देखिएमा मंगलबार ईद मनाइने छ। साउदी अरबमा भने आइतबार नै ईद मनाइएको जानकारहरूले बताएका छन्।
विश्वविद्यालयका प्रशासन प्रमुख सुजन भुर्तेलका अनुसार ओभरसियरतर्फको ब्याचलर तेस्रो सेमेस्टरको परीक्षा हाल चलिरहेको छ। उनले भने, ‘हामीले परीक्षा गराउनै पर्छ भन्ने मान्यता राख्दैनौं, सिटीईभीटीलाई जानकारी गराइसकेका छौं। हामी निर्णयको प्रतिक्षामा छौं।’ भुर्तेलले थप जानकारी दिए कि गृह मन्त्रालयले पनि अहिलेसम्म ईद पर्वको दिन सार्वजनिक विदा घोषणा गरिसकेको छैन, जसले अन्योलता थप बढाएको छ।
विद्यार्थीहरूले प्रशासनिक भवनमा ताला लगाउँदा केही कर्मचारीहरू भित्रै थुनिएका छन्।
मुस्लिम विद्यार्थीहरूको प्रतिनिधिले भने, ‘हामीले पर्वको दिन परीक्षा नराख्न पटक–पटक अनुरोध गरेका थियौं। तर प्रशासनले हाम्रो माग सुनुवाइ नगरेपछि बाध्य भएर यो कदम चाल्नुपरेको हो।’

विश्वविद्यालय प्रशासनका अनुसार विद्यार्थीको मागबारे सिटीईभीटीलाई अवगत गराइएको छ र अन्तिम निर्णय त्यहीबाट आउने बताइएको छ। विद्यार्थीहरूले भने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

आइतबार, १६ चैत, २०८१, दिउँसोको ०४:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर