चाहिने बेलामा किसानलाई छैन मल

विराटनगर । मोरङको सुनवर्सि ५ का किसान शंकरप्रसाद सिंह सोमबार मध्य दिनमा पसिना पुछ्दै मकैमा रासायनिक मल हाल्दै थिए । मकैमा मल लगाउन ढिला भएको भन्दै उनले सरकारलाई गाली पनि गरिरहेका थिए । उनले गाली गर्नुको कारण थियो मलको अभाव । सयमा मल नपाउँदा मकैमा दाना कम लाग्ने चिन्ताका कारण उनले सरकारलाई गाली गरेका रहेछन् ।
उनले लगाइरहेको मलभने नेपाल सरकारले खरिद गरेर ल्याएको सहुलितको होइन । भारतबाट महँगोमा खरिद गरेर ल्याएको हो । ५ सय रुपैयाँ बोरामा नेपालमै पाइने मल २३ देखि २५ सय रुपैयाँसम्म तिरेर बिचौलियामार्फत ल्याउन लगाएको उनले बताए ।
‘भारतबाट हामीलाई मल ल्याउन भारतीय प्रहरीले नै रोक्छ,’ मल देखाउँदै उनले भने ‘यहाँ हेर्नु न नेपालको जस्तो राम्रो पनि छैन । तीन डबल महँगो हालेर किन्नु परेको छ । ’

मल लगाउन ढिला हुँदा दाना लाग्दैन भन्ने चिन्ता थपिएको उनले बताए । हामीसँग कुरा गर्दा उनको चेहरामा थकान र चिन्ता स्पष्ट देखिन्थ्यो । किसानी जीवन सधैँ कठिन नै देखिन्छ, सिंहले आक्रोशपूर्ण स्वरमा भने, एक बोरा मल ८०० रुपैयाँमा पाइनु पर्ने हो, अहिले हामीले २ हजार ३०० रुपैयाँमा किन्नु पर्ने बाध्यता छ । यस्तो महँगाइमा कसरी खेती गर्ने ?’

मलको अभाव र असाध्यै महँगो मूल्यले लागत मूल्यमा धेरै परिवर्तन ल्याइदिने किसानहरू बताउँछन् । कृषिप्रधान देशमा कृषकले समयमै मल नपाएको यो पहिलो घटना भने होइन । तर विगत दुई वर्षमा नदेखिएको यो समस्या फेरि दोहोरिएको हो । जसले किसानलाई चर्को मूल्य तिर्नुपर्ने बाध्यता आइलागेको छ । जसबाट किसानहरु निरास भएका छन् । सरकार हाम्रो हो कि कसको हो भनेर छुट्ट्याउननसकेको भन्दै किसानहरू सरकारको आलोचना गरिरहेका छन् ।

मोरङका दक्षिणी भागका अधिकांस किसानले जग्गा भाडामा लिएर मकै खेती गर्ने गरेका छन् । ‘खेत पनि छैन अर्काको खेतमा उब्जाउ गर्छु भन्दा पनि समयमा मल पाइँदैन । किसानका लागि मल भनेको प्राण वायु जत्तिकै हो तर यहाँ लगनपछिको पोते जस्तो छ, चाहिने बेलामा पाइदैन,’ किसान बजैनाथ साहले भने ।

गतवर्षको तुलनामा भारतबाट अवैध रुपमा आउने मलको मूल्य पनि तेब्बरले बढेको छ । मल अभावले यस पटक मकै उत्पादन घट्ने चिन्ता पनि उनीहरुलाई छ ।मल नपाउँदा यस पटक उत्पादनमा ठूलो गिरावट आउने अस्था रहेको सुनवर्षिका किसान बैजनाथ साहले बताए । ‘चाहिने बेलामा मल पाइँदैन,’ उनले भने ‘जब समय बित्छ अनि मल पाइन्छ । कसरी खेती गर्ने हो ? उनले नेताहरुतिर प्रश्न गर्दै भने नेताहरू भने कृषिप्रधान देश भन्न छाड्दैन् तर काम केही गर्दैनन् ।’सबै किसानहरुको एउटै माग छ ‘समयमै मल देउ, मलको अभावमा किसानलाई लुट्न छोडिदेउ ।’

धान, गहुँ मकै आलु चिया र तरकारीमा रासायनिक मल प्रयोग गर्ने गरिन्छ । कोशी प्रदेशमा युरिया १ लाख ३८ हजार ३३५ मेट्रीक्टन आवश्यक पर्छ । डिएपि ७७ हजार ३१५ मेट्रिकटन चाहिन्छ भने पोटास ४८ हजार ८०० टन भए पुग्छ । यो प्रदेशमा २१.५ प्रतिशत मल आउँछ । चालु आवमा सबै मिलाएर ६५ हजार टन वितरण भएको कोशी प्र्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अभिमन्यु अधिकारीले जानकारी दिए । हालसम्म ३७ हजार ४६७ मेट्रिक टन युरिया, डिएपि २५ हजार १७.७ मेट्रिक टन र पोटास २८ सय २० मेट्रिक टन आएको छ । यति बेलाभने चैते धान र मकैका लागि युरिया मल आवश्यक छ ।

युरिया मल आर्थिक वर्ष २०८०-२०८१ मा ५८ हजार ७३.१५ मेट्रिक टन मल आएको थियो । आर्थिक वर्ष ०७९-०८० मा ५० हजार ५४३ सय मेट्रिक टन मल आएको थियो । कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी यादवका अनुसार आथिएक वर्ष ०७८-७९ मा २६ हजार ९५१ टन मल आएको थियो । आर्थिक वर्ष ०७७-७८ मा ४० हजार ४१२ टन मल आएको तथ्यांक उनले सुनाए ।

बिहिबार, १३ चैत, २०८१, बिहानको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर