विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टाको लगातार प्रयासपछि नियन्त्रणमा आएको छ ।
इटहरीको सबैभन्दा अग्लो १० तले भवनमा बिहान ९: ४३बजेदेखि आगलागी भएकोमा ६ घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक योगराज खतिवडाका अनुसार आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो । यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३५० जनाभन्दा बढी सुरक्षाकर्मी आगलागी नियन्त्रणमा खटिएका थिए ।
आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो । प्लाजाको बिभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । उनीहरुको उद्धारको लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको भएपनि त्यसअघि नै डोरीको सहायताले उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा छन् । आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।