विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
उद्धार हुनेहरुमा ८ पुरुष र ३ महिला छन् । इटहरी उपमहानरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।
आगलागी भएको भवनको छतमा फसेका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो ।
इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आउन नसकेपछि त्यहाँ अड्किएका ३ जनाको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर आएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरी स्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराएको थियो । अब छतमा कोही अड्किएको भन्ने नभएको प्रहरीले जनाएको छ।
यसअघि डोरीको प्रयोग गरेर ८ जनाको उद्धार भएको थियो । १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको थियो । आगो अझै नियन्त्रणमा आएको छैन ।
आगलागी नियन्त्रणका लागि विराटनगर, इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा रहेका थिए ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
आगलागीबाट फैलिएको धुँवाका कारण दुई जना समान्य घाइते भएकाले अस्पताल लगिएको छ ।