पाँचौँ मिल्स गोल्डकप : उद्घाटनमा फ्युजन फुटबल क्लबको विजयी सुरुवात

विराटनगर । पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट सेमिफाइनलमा पुगेको छ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लब फत्तेपुरलाई १–० गोलले निराश बनाउँदै फ्युजन फुटबल क्लब सेमिफाइनलमा पुगेको हो।

जितका लागि फ्युजन फुटबल क्लबका युवराज थापा नायक बने। उनले खेल सुरु भएको ६८औँ मिनेटमा निर्णायक गोल गरेका थिए । रितेश तामाङले निकालेको क्रस पासलाई युवराजले चलाखीपूर्ण ढङ्गले जाली चुमाएका थिए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले। दोस्रो हाफपछि एक गोलले पछि परेपछि सप्तरी आक्रमक बनेको थियो। खेल बराबरीमा ल्याउन निकै संघर्ष गरेको थियो । तर सफल हुन सकेन। सप्तरीका खेलाडीहरूले बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेपछि उनीहरु पहिलो खेलबाटै घर फर्किएका छन् ।

खेलको ६२औँ मिनेटमा बिनु मगरले डिबक्सभित्रबाट गरेको कडा प्रहार बारमाथिबाट बाहिरिएको थियो । त्यसलगत्तै पुष्पराज चौधरीले गरेको प्रहार उदयपुरका गोलकिपर अनिल मगरले उत्कृष्ट बचाउ गरिदिए। खेलको ७०औँ मिनेटमा सप्तरीका कप्तान सुशिल कुमार यादवले गरेको प्रहारमा उदयपुरका गोलकिपर अनिल बाधक बने। सप्तरीका खेलाडीहरूले गरेको बारम्बारको कडा प्रहार उदयपुरका गोलकिपरले विफल पारिदिए। खेलको प्लेयर अफ द म्याच पनि उदयपुरका गोलकिपर अनिल मगर घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार रुपैयाँ पाउनेछन्। चैत १० गते हुने फाइनलमा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ। सोमबारको खेल घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए।प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका छन् । ।

आइतबार, ०२ चैत, २०८१, साँझको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर