विराटनगर । नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ। विराटनगरको शहीद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्यो।
थ्रीस्टारलाई तेस्रो पटक विराट गोल्डकपको उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले एक–एक गोल गरे। खेल सुरु भएको पाँचौँ मिनेटमै नविन लामाले दिएको क्रस पासलाई खेमराज श्रेष्ठले चलाखीपूर्ण ढंगले गोलमा परिणत गरे। त्यसपछि ६३औँ मिनेटमा दिपेश घलेले थप गोल गर्दै टिमको जित सुनिश्चित गरे। उनले ‘वान भर्सेस वान’अवस्थामा डिफेन्डरलाई छिचोल्दै पहिलो प्रहार गरेका थिए । जुन चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो। घलेले फर्किएको बललाई दोस्रो प्रयासमा गोलमा परिणत गरे।

उपाधिसँगै थ्रीस्टारले ११ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ नगदमा चित्त बुझायो।
थ्रीस्टारले यसअघि पाँचौँ संस्करणमा त्रिभुवन आर्मीलाई ३–० ले हराएर पहिलो पटक विराट गोल्डकपको उपाधि जितेको थियो। चर्च ब्वाइज भने पहिलो पटक फाइनलमा पुगेको थियो तर निर्णायक खेलमा बलियो प्रदर्शन गर्न सकेन।
प्रतियोगिताको विभागीय पुरस्कारमा पनि थ्रीस्टारकै वर्चस्व रह्यो। थ्रीस्टारका कप्तान एकराज बुढाथोकी फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का, उत्कृष्ट गोलकिपरमा थ्रीस्टारकै विवेक मगर र उच्च गोलकर्ता दिपेश घले घोषित भएका छन् । उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी थ्रीस्टारका खेमराज श्रेष्ठ घोषित भए । उनले ५१ हजार रुपैयाँ प्राप्त गरे।
थ्रीस्टारले क्वार्टरफाइनलमा मछिन्द्रलाई २–१ ले र सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–२ ले पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो। त्यसैगरी चर्च ब्वाइजले क्वार्टरफाइनलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा नेपाल पुलिसलाई १–० ले हराएर फाइनलमा पुगेको थियो।
फागुन १९ गतेदेखि सुरु भएको यस प्रतियोगिताम दुई विदेशी टिमसहित ‘ए’ डिभिजनका १० टिमले सहभागिता जनाएका थिए। विजेता टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेश सांसद भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकपका संयोजक नविन रिजाललगायतले पुरस्कार वितरण गरेका छन् ।





