माओवादीको झापा, मोरङ र सुनसरीको अभियान कस्तो रहयो ?

अभियानमा ५ हजार मानिस प्रवेश गरेको दाबी, मोरङमा उत्साहित देखिएका माओवादी झापा र सुनसरीमा भने सन्तुलित

विराटनगर । कोशी प्रदेशको झापाको कचनकवलबाट चार दिन अगाडि सुरु भएको माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत पूर्वपश्चिम तराइ–मधेश जागरण अभियान बिहीबार साँझ मधेश प्रदेश प्रवेश गरेको छ ।

कोशी प्रदेशका तीन जिल्ला केन्द्रीत गरेर भएको यो अभियान उत्साहजनक रहेको माओवादी नेताहरु बताउँछन् । अभियानको प्रारम्भीक समीक्षा गर्दै बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘झापा र मोरङको अनुभव निक्कै नै उत्साहवद्र्धक रहयो । जनतामा एउटा सकारात्मक भाव पैदा भएको देखिएको छ । मैले झापा र मोरङमा झल्को चाहिँ ६४ को पाएको छु ।’

अध्यक्ष प्रचण्डले ६४ को झल्को देखेको यो पहिलो पटक भने होइन । केही महिना अगाडिदेखि नै प्रचण्डले ६४ को झल्को देखेको भनिरहेका छन् । झापामा आयोजित केही कार्यक्रमहरुबाटै उत्साहित भएका प्रचण्ड तथा माओवादीहरु गत मंसिरमा सम्पन्न उपनिर्वाचनबाट झनै उत्साहित छन् । अहिले सुरु भएको अभियानमा देखिएको कार्यकर्ताको उत्साहपूर्ण सहभागीताले प्रचण्ड लगायत नेताहरु पनि हौसिएका देखिन्छन् ।

झापामा साना ठूला गरी ७ वटा कार्यक्रम भएको थियो । त्यसक्रममा ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता अन्य पार्टीबाट माओवादीमा प्रवेश गरेको माओवादीको दाबी छ । दोस्रो दिन मोरङमा तीन ठूलो खबरदारी सभा र आधा दर्जनबढी भेटघाट कार्यक्रम गरेको माओवादीमा झण्डै ३ हजार बढी नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्रिएको माओवादीले दाबी गरेको छ । यस्तै चौथो दिनको सुनसरीको अभियानबाट पनि ५ सयबढी अन्य पार्टीका कार्यकर्ता पार्टीमा भित्रिएको माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो बताउँछन् ।

अभियानको विषयमा प्रारम्भीक समीक्षा गर्दै माओवादी नेता कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले अभियान उद्घाटनको दिन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएको विषयले केही नराम्रो भएपनि समग्रमा राम्रो भएको बताए । ‘कार्यक्रम धेरै भए । प्रेसर अध्यक्षलाई बढी भयो । झापादेखि सुनसरीसम्मका दुई दर्जनबढी कार्यक्रमहरुमा समावेश हुँदा जनताको अपार साथ र समर्थन देखियो,’ गजुरेलले भने, ‘झापाको उद्घाटनमा केही असन्तुष्टिले केही खल्लो भयो ।’ जनताको आकर्षण बढेको देखिएको पनि उनले बताए । ‘अध्यक्षले भन्नुभएको जस्तै ६४ को झझल्को चाहिँ देखिएको छ । मैले आफूले सोचे भन्दा राम्रो भयो,’ गजुरेलले भने ।

अभियानको सुरुका दिनदेखि नबिराई प्रत्येक कार्यक्रममा हिंडिरहेका माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष नेम्वाङ झापा र सुनसरीमा आन्तरिक एकतामा केही समस्या देखिएको भएपनि मोरङमा धेरै राम्रो कार्यक्रम भएको दाबी गर्छन् । ‘साना साना धेरै कार्यक्रहरु भएका छन् । हामीले ५ हजार मानिसलाई प्रवेश गराउने लक्ष्य राखेका थियौं । त्यो करिब करिब पूरा भएको छ । त्यसमध्ये अन्य पार्टीमा रहेका पुराना माओवादीहरुलाई फर्काउने लक्ष्य पनि धेरै पुरा भएको छ,’ उनले भने, ‘अहिले सबै समीक्षा गर्न बाँकी छ । झापा र सुनसरीमा केही समस्या देखियो । मोरङको हकमा एउटा उचाईमा अगाडि बढ्यौं जस्तो लाग्छ । अहिलेको अभियानले आधार बनाएको छ । त्यसलाई व्यवस्थित ढंगले समीक्षा गरेर अगाडि बढ्दा धेरै राम्रो हुने देखिन्छ ।’
अभियानमा सबै कार्यक्रममा प्रचण्डले सम्बोधन छुटाएनन् । उनलाई फुर्सद हुने अवस्था पनि रहेन । बिहानको मर्निङ वाकदेखि बास बस्ने स्थानसम्म पुग्दा प्रचण्डको वरिपरि झुम्मिनेहरूको कमी पनि देखिएन । विगतमा उनीप्रति हुने आलोचना र कटाक्षहरु पनि त्यति धेरै देखिएन ।

माओवादीको यो अभियान मधेशका २१ जिल्लामा केन्द्रीत हुँदै कञ्चनपुरसम्म पुग्नेछ । दक्षिण भेगमा रहेका विभिन्न आदिवासी, जनजाति, मधेशी, थारु लगायतका जनतासँग एउटा अपिल गर्ने, उनीहरुको मुद्दालाई स्थापित गर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको कारण त्यसको भण्डाफोर गर्ने, आर्थिक विकास र समृद्धिको निम्ति जनचेतना अभिवृद्धि गर्ने र समाजवादको आधार तयार गर्ने माओवादी अभियानको लक्ष्य छ । अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीको टोली सहभागी छ । माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । उक्त अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ ।

शुक्रबार, १६ फागुन, २०८१, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर