स्ववियु सभापतिले क्याम्पसभित्र नचाए बञ्चरो

अर्को समूहले ल्याएको बन्चरो खोसेको सभापति पौडेलको दावी

विराटनगर । राजनीतिक संरक्षणमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसभित्र गुण्डागर्दी फस्टाएको पाइएको छ । क्याम्पस हाताभित्र गुण्डागर्दी बढेको गुनासो विद्यार्थीहरुले गरिरहेकोमा बिहीबार भने हतियारसहित झडप भएको छ ।

महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति जसवन्त पौडेलसहितको समूहले दिनदहाडै क्याम्पस परिसरभित्र वन्चरो नचाउँदै नेपाल विद्यार्थी संघ मोरङका सभापित सरोज पोखरेललाई कुटपिट गरेको छ । स्ववियु सभापति पनि नेविसंघकै हुन् । काँग्रेसमा सभापति शेरबहादुर देउवा निकट हुने डा.शेखर कोइराला निकट पोखरेलमाथि कुटपिट गरेका हुन् ।

नेविसंघकै दुई पक्षबीच झडप हुँदा पोखरेलसहित तीन जना विद्यार्थी घाइते भएका छन् । नेविसंघ मोरङका सभापति पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहान क्याम्पस पुगेको थियो ।आफूहरुको स्वीकृतिबिना क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति पौडेलको समूहले वञ्चरो, तरवार र लाठीले उनीहरुमाथि आक्रमण गरेको पीडितले बताएका छन् ।

आक्रमणबाट नेविसंघ मोरङ सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास पनि घाइते भएका छन् । घाइते तीनै जना कोइराला पक्षका हुन् । घटनामा सभापति पौडेल समूहका प्रशान्त यादव र सुविक्षा थापा मगर पनि घाइते भएका छन् ।

आक्रमण उत्रिनेहरुमा पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरु प्रशान्त यादवलगायतको टोली रहेको पीडितको भनाइ छ । उनीहरुले दोषीमाथि कार्वाहीको माग गरेका छन् । तर, प्रहरीले भने घटनाबारे कुनै जानकारी नभएको बताएको छ ।
पोखरेलमाथि भएको आक्रमणको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा पोखरेललगायत समूहमाथि एकोहोरो आक्रमण भइरहेको देखिन्छ । सुरुमा मुक्का र लात्तीले प्रहार गर्छन् । त्यसपछि पोखरेल ढल्छन् र जसवन्तले हातमा बोकेको बन्चरो लिएर अगाडि बढ्छन् । ढलेका युवालाई प्रहार पनि गर्न खोज्छन् । तर, प्रहार नगरि लात्ती हानेर बन्चरोलाई हाफ ज्याकेटभित्र राखेर हिड्छन् ।जेठ २७ गते पौडेलको नेतृत्वमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको थियो । त्यसबेला सभापति पौडेलकै नेतृत्वमा को १ झ ६४४ नम्बरको गाडीमा आगजनी भएको थियो ।

कानूनलाई हातमा लिएर पौडेलले आफूविरुद्ध बोल्ने विद्यार्थीलाई धम्काउने, थर्काउने, तर्साउने र आतंक सिर्जना गर्ने गरेको आरोप छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले पनि महेन्द्र मोरङ क्याम्पसभित्रको गुण्डागर्दी संलग्न व्यत्तिलाई पक्राउ गरी कारवाहीको दायारमा ल्याउन नसक्दा कलेजभित्र गुण्डागर्दी संरक्षित रहेको विद्यार्थीहरु दावी गर्छन् ।

स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको घाइते भएकी पुजा विश्वासले बताइन् । ‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा सांघातिक हमला भयो’ उनले भनिन्, ‘स्ववियु सभापति पौडेलको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन् ।’

विश्वासका अनुसार नेविसंघका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दैगर्दा आक्रमण भएको हो । ‘क्याम्पसका बारेमा विद्यार्थीमा नराम्रो सन्देश जाने बुझेर केही समस्या भएमा छलफलबाट समाधान गरौं भनेर हामीले बारम्बार आग्रह गर्यौं,’ उनले भनिन्, ‘तर, कुरै नसुनिकन एक्कासी आक्रमणमा उत्रिए ।’ शैक्षिक संस्थाभित्र गुण्डागर्दी र अराजक शैलीमा आक्रमण भएको विश्वासको भनाइ छ ।

सुरुमा मुक्काले प्रहार गरिएको र पछि बच्चरोसमेत ल्याएर आक्रमण गरिएको दाबी विश्वासले गरेकी छन् । विश्वासका अनुसार स्ववियुका नाममा भएको बद्मासीबारे प्रश्न उठाएकोले आक्रमण भएको हो । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ’ उनले भनिन्, ‘स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौं । त्यहि रिसईबी राखेर आक्रमण गरिएको हो ।’

स्ववियु सभापति पौडेलले भने बिनाजानकारी क्याम्पसमा आएर नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको दावी गरे । भिडियो देखिएको बञ्चरो पोखरेलको समूहबाट खोसेको उनको दावी छ । ‘सरोजले बाहिरबाट नयाँ केटाहरु लिएर क्याम्पसमा छिरेर मेरो केटाहरुलाई बन्चरो बोकेर देखाएपछि मैले एक लात्ती हानेर बन्चरो खोसेको हो,’ उनले भने, ‘भिडियोमा हेर्दा मलाइ अराजक देखिन्छ । तर, उनीहरु निहँु खोजेर नआएको भए यो घटना हुदैनथियो ।’

केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको पौडेलले बताए । पौडेलका अनुसार नेविसंघका जिल्ला सभापति पोखरेल क्याम्पसमा नयाँ इकाई समिति बनाउने तयारीका साथ आएका थिए । पोखरेल पार्टीभित्र इतर पक्षधर हुन् । इतर पक्षधरले भने क्याम्पसमा नयाँ इकाई गठन गर्न नभइकन स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ ।

विवाद बढेर २ पक्षबीच झडप भएको जानकारी पाएपछि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीको नेतृत्वको टोली पुगेको थियो । क्याम्पसभित्रको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
‘क्याम्पसभित्रको सुरक्षाको जिम्मा क्याम्पस प्रशासनले गर्ने हो । क्याम्पस प्रमुखले सुरक्षा चाहियो भनेपछि मात्रै प्रहरी जान मिल्छ’ उनले भने, ‘क्याम्पस प्रमुखको अनुमतिविना प्रहरी भित्र जान सक्दैन ।’ पछिल्लो घटनाको अनुसन्धान भने गरिरहेको उनले बताए ।

शुक्रबार, १६ फागुन, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर