देवानगंज । तराई (मधेस जागरण अभियानको चौथो दिन आज सुनसरीको देबानगंज गाउपालीका(३ पाचो सिमरमा अभियान स्मृति स्तम्भको अध्यक्ष कामरेड प्रचण्डले झंडोतोलन गरी उद्घाटन गरेका छन् ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन यो सरकारले रोकिरहेको बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन्व गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए ।
अघिल्लो सरकारले नागरिकताबिहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समधानका लागि आफूहरुले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए । उनले यी लगायत धेरै सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र विचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो संभव नभएको दाबी गरे तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरुका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए ।
अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको भन्दै देवानगन्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै यहाँका जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्यांकन गरेको बताए ।
मधेसको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उहाँले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको अवस्था रुपान्तरणका लागि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर अवस्थाको प्रत्यक्ष अवलोकन गर्न नै आफूहरु अभियानमा आएको र यहाँबाट फर्केपछि थप कार्यक्रम तय गर्ने बताए।