एमाले मोरङको अधिवेशन तयारी

अधिकांश पालिकाबाट छानिए प्रतिनिधि, केही ठाउँमा रोकियो

विराटनगर । नेकपा एमाले मोरङको फागुन १७ गतेबाट सुरु हुने जिल्ला अधिवेशनमा भागलिने प्रतिनिधिहरु छानिएका छन् ।
मोरङ जिल्लाका १७ स्थानीय तहका १५९ वटा वडाहरुबाट एमालेले शनिबार जिल्ला अधिवेशन प्रतिनिधि निर्वाचित गरेको हो । अधिकांश वडाहरुबाट यस पटक एमालेले सर्वसम्मत प्रतिनिधि चयन गरेको नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।

नेकपा एमाले मोरङको आउँदो अधिवेशनमा ९१० जना प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसमध्ये भूगोलबाट शनिबार ६७६ जना प्रतिनिधि निर्वाचित भएको अध्यक्ष कार्कीले बताए । पार्टीका विभिन्न जनवर्गीय संगठनहरुबाट १८८ जना अधिवेशन प्रतिनिधिहरु आइतबार साँझसम्म निर्वाचित हुनेछन् । त्यसका लागि सबै जनवर्गीय संगठनहरुमा निर्वाचन प्रक्रिया अगाडि बढिसकेको एमाले मोरङले जनाएको छ । जनवर्गीय संगठनबाट प्रतिनिधिहरु निर्वाचित भइसकेपछि ४६ जना प्रतिनिधि जिल्ला कमिटीले मनोनित गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

कार्कीले भूगोलतर्फबाट सबै प्रतिनिधि छानिएको जानकारी दिए पनि केही पालिका र महानगर वडा नम्बर १४ लगायत केही वडाबाट आइतबार साँझसम्म प्रतिनिधिहरु छनोट हुन सकेको छैन । प्रतिनिधिका लागि सहमति बन्न नसकेपछि ती ठाउँहरुमा ढिलाइ भएको हो । एमाले मोरङको वर्तमान कमिटी सकेसम्म निर्वाचनमा जान नपरोस् भन्ने पक्षमा रहेका कारण सहमतीका लागि प्रयत्न भइरहेको एक नेताले जानकारी दिए ।

जनवर्गीय संगठनहरुलाई नेकपा एमालेले दुई वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गमा रहेका जनवर्गीय संगठनहरु अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघ, खेलकुद महासंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आदिबाट पाँच जनाका दरले प्रतिनिधिहरु छानिने छन् भने ‘ख’ वर्गका संगठनहरु प्रेस चौतारी, कर्मचारी संगठन आदिबाट तीन जनाका दरले प्रतिनिधि निर्वाचित हुने अध्यक्ष कार्कीले जानकारी दिए ।

नेकपा एमालेको आसन्न मोरङ जिल्ला अधिवेशनमा अध्यक्ष बन्नका लागि दुई समूहबाट करिव ६ जना अध्यक्ष पदका दाबेदारहरु सक्रिय देखिएका छन् । अध्यक्ष पदका दुई जना दाबेदारहरु रुपेश खतिवडा र अन्जु उपाध्याय प्रतिनिधिको चुनावबाटै पछाडि हटेर उम्मेदवारी फिर्ता लिएका छन् । यद्यपि उनीहरु जिल्ला कमिटीबाट मनोनित हुने सम्भावना यथावतै रहेको नेकपा एमाले मोरङले जनाएको छ ।

जिल्ला अध्यक्ष पदमा दाबी गरिरहेका ६ जना विभिन्न ठाउँबाट प्रतिनिधिको रुपमा निर्वाचित भएका छन् । जिल्ला अध्यक्ष बाबुराम कार्की, विराटनगर महानगरका पूर्व अध्यक्ष सागर थापा, कोशी प्रदेशसभाका पूर्व सांसद राजकुमार ओझा, महेश भट्टराई, इरान राई र अजम्बर राई भूगोलबाट प्रतिनिधि निर्वाचित भएका छन् ।

एमालेको संस्थापन पक्ष अर्थात प्रधानमन्त्री केपी शर्मा ओली र संस्थापन इत्तर पक्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्ष भएर प्रतिनिधिहरु निर्वाचित भएको एमाले नेताहरुले बताएका छन् । विक्रम सम्वत २०५० को दशकबाटै ओली समूहको बर्चश्व रहेको मोरङमा यस पटक भने फरक परिदृश्य देखापरेको उनीहरुको दाबी छ । अहिले मोरङमा संस्थापन पक्षको नेतृत्व उपाध्यक्ष गुरुप्रसाद बराल हुँदै मोरङका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका अध्यक्ष ऋषिकेश पोखरेल र पर्शुराम बस्नेतहरुले गरिरहेका छन् भने मोरङका पूर्व अध्यक्ष विनोद ढकालले पूर्व राष्ट्रपति विद्या भण्डारीसँग नजिक भएर संस्थापन इत्तर समूहको नेतृत्व गरिरहेका छन् । संस्थापन पक्षले यस पटक वर्तमान अध्यक्ष बाबुराम कार्कीलाई नै अध्यक्ष बनाउने तयारी गरेको छ । कार्कीलाई अध्यक्ष जिताउन नसकिने अवस्थामा उक्त समूह राजकुमार ओझालाई अगाडि सार्ने तयारीमा छ । ओझालाई अगाडि सार्दा उत्तर पूर्वी मोरङको मतहरु केन्द्रित गर्नसक्ने अनुमान उनीहरुले गरेका छन् ।
ढकाल समूहबाट भने अध्यक्षमा दाबी गर्नेहरु धेरै देखिएका छन् । अध्यक्षका उम्मेद्वारका लागि दाबी गरिरहेका अजम्बर राई, महेश भट्टराई, सागर थापा तीनै जना ढकाल समूहका हुन् । अहिलेसम्म सहसचिव पदमा आकांक्षा राखिरहेका इरान राई भने दुवै समूहको साझा उम्मेदवार भएर अध्यक्ष बन्ने प्रयत्न पनि सँगसँगै गरिरहेका छन् ।

मोरङका १७ स्थानीय तहका १५९ वडाहरुबाट निर्वाचित भएका प्रतिनिधिहरुको प्रारम्भिक नतिजाले संस्थापन इत्तर पक्ष बढी उत्साहित देखिएका छन् । संस्थापन इत्तर पक्षले रंगेली, सुनबर्षी, रतुवामाई र लेटाङमा केही चुनौती महशुस गरेको छ । यस्तै संस्थापन पक्षले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिकामा बढी चुनौती देखिएको उनीहरुले बताएका छन् ।

सोमबार, १२ फागुन, २०८१, बिहानको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर