आजबाट माओवादीको तराई मधेश जागरण अभियान

विराटनगर । जनतासँग माओवादी तराई–मधेस जागरण अभियान आजदेखि सुरु हुँदैछ । झापाबाट देखी सुरु हुने अभियानको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन् । प्रचण्ड आइतबार बेलुका झापा पुगेका छन् ।

बिहान ९ः३० बजे कचनकवलको बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार चैत ७ गते कञ्चनपुरमा अभियान समापन हुनेछ ।

पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त समीक्षा, राष्ट्रिय परिस्थितिमा आफ्नो पार्टी नेतृत्वको सरकारले सुशासनको निम्ति भ्रष्टाचार विरुद्व अभियान सुरु गरेको र त्यही क्रममा भ्रष्टहरूले रातारात सरकार परिवर्तन गरेको निष्कर्ष निकालेको थियो ।
मुलुकमा सहकारी हिनामिना र मिटरब्याजी सम्बन्धी समस्या जर्जर बन्दै गएको, मुलुक वित्तीय संकटतर्फ गम्भीर रूपमा धकेलिँदै गइरहेको, बहुदलीय प्रणाली विपरीत दुई दलीय निरङ्कुशता बढाउँदै लगिरहेको, सरकारबाटै लोकतन्त्रमाथि संकट बढ्दै गइरहेको बैठकको ठहर थियो । यस्तै, वर्तमान विश्व राजनीतिक तनाव र भूराजनीतिक स्थितिमा सरकारद्वारा सन्तुलित परराष्ट्र नीतिको अवलम्वन नगरिएको, त्यसले गर्दा राष्ट्रिय स्वाधीनतामाथि संकट बढ्दै गइरहेको बैठकको निष्कर्ष थियो ।

मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुयाउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझाव सङ्कलन गर्ने, जनता र पार्टी नेतृत्वबिचको सम्बन्ध विस्तार गर्ने आदि उद्देश्यलाई केन्द्रविन्दु बनाएर अभियान राखिएको प्रवक्ता सापकोटाले बताए ।

२०८४ को निर्वाचनमा माओवादी आफ्नै खुट्टामा उभिने हिसाबले यस्ता अभियान सञ्चालन गरेको सापकोटाको जिकिर छ ।

‘यस अघिको अभियान कार्यकर्ता केन्द्रित थियो । अहिलेको अभियान जनता केन्द्रित छ,’ सापकोटाले भने, ‘जनताको समस्या, गुनासा सुन्ने, सरकारले गरेको भ्रष्टाचार, अनियमितता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे आमरूपमा जानकारी गराउने, संगठन विस्तार तथा निर्माण गर्ने यो अभियानको उद्देश्य छ ।’

हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान, मध्यपहाडी लोकमार्ग, हिमाल–पहाड केन्द्रित अभियानले पार्टीलाई जरैदेखि बलियो बनाउने सापकोटाको जिकिर छ ।

कोशी प्रदेशका इन्चार्जसमेत रहेका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई बलियो बनाउन पूर्व९सहर० केन्द्रित अभियानमा जोड दिने हिसाबले पूर्व–पश्चिम तराई–मधेस जागरण अभियान राखिएको दाबी गरे । पार्टी सत्तामा हुँदा वर्ग बिर्सिएकाले समस्या उत्पन्न भएको जिकिर गर्दै उनले प्रतिपक्षमा पुगेपछि माओवादीप्रति जनआकर्षण बढेको दाबी गरे ।

‘शान्ति प्रक्रियामा आएपछि धेरै समय सत्तामा बस्यौँ । वर्गबाट टाढिँदै गयौँ,’ गजुरेलले भने, ‘खास गरी माओवादीको जनमत रहेको पूर्वी क्षेत्रलाई उपेक्षा गर्‍यौँ । त्यसले गर्दा पार्टी कमजोर भयो ।’

पछिल्लो पटक सरकारमा बसेर माओवादीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गरेको गजुरेलको दाबी छ । प्रतिपक्षमा पुग्दा माओवादीप्रति जनमत आकर्षित भएको उनले बताए । ‘२०८४ सम्म पार्टीको ध्यान सत्ता होइन, जनता केन्द्रित हुनुपर्छ’, उनले भने ।

संसदको दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर असार ३१ गते सरकार बनाएपछि माओवादी प्रतिपक्षमा पुगेको हो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि हरेक निर्वाचनमा धक्का खाँदै आएको माओवादी गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा मत र सिट दुवै बढाउन सफल भएको थियो । राष्ट्रिय महाधिवेशनअघि ६ महिने अभियानमा जुटेको माओवादीले आन्तरिक संगठनलाई बलियो बनाउने नीति लिएको छ ।

अभियानको कार्यतालिका अनुसार एक दिन एक जिल्लामा कार्यक्रम राखिएको छ । अभियानको स्वरूप जनसभा, चोकसभा अन्तर्क्रिया, जनभेटघाट आदि हुनेछ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने जनाइएको छ ।

कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रम आयोजना हुने कार्यतालिकामा उल्लेख छ ।

अभियान टोलीमा सहभागी पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मी रहने जनाइएको छ ।

सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्थानीय जनता अभियानमा सहभागी हुने बताइएको छ ।

अभियानका लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिले गर्नुपर्ने छ । साथै स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभुषा, झाँकीहरू, स्थानीय पार्टी समितिले तय गर्नुपर्ने छ ।

अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने जनाइएको छ ।

सोमबार, १२ फागुन, २०८१, बिहानको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर