विराटनगर । नेकपा एकीकृत समाजवादी प्रदेश र जिल्ला अधिवेशनको तयारीमा होमिएको छ । उक्त पार्टीको कोशी प्रदेश अधिवेशन यही फागुन २४ र २५ गते इटहरीमा हुने तय गरिएको छ ।
अधिवेशनमा सयौंका संख्यामा पार्टी प्रवेश गराइनेसमेत कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश कमिटी सचिव महेश रेग्मीले बताएका छन् । अधिवेशनमा प्रदेशका १४ वटै जिल्लाका पालिकास्तरसम्मका प्रतिनिधि सहभागी हुने उनले बताए ।
यस्तै प्रदेश अधिवेशनलगत्तै नेकपा एकीकृत समाजवादीको नवौं मोरङ जिल्ला अधिवेशन हुने भएको छ । विराटनगरमा यही चैत ८ र ९ गते हुने जिल्ला अधिवेशनमा पार्टीको वडा तहसम्मका कमिटीबाट प्रतिनिधि छानिएर आउने पार्टीका मोरङ अध्यक्ष चन्द्रबीर राईले जानकारी दिए । उनका अनुसार भूगोल क्षेत्रबाट दुई सय ६५, जनसंगठनबाट ७० र मौजुदा कमिटीबाट समेतगरी पाँच सयको हाराहारीमा जिल्ला अधिवेशनमा प्रतिनिधि हुने छन् ।
उक्त अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुषालसहितका नेताहरू अतिथिका रुपमा सहभागी हुने बताइएको छ