विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गरे । ‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु हुँदैन । त्यहाँ वार्ता र छलफलबाट समस्या समाधान हुनुपर्छ,’ उनले भने ।
यसअघि प्रदेशसभामा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि पाथीभरा क्षेत्रको विवाद समाधान गर्न आग्रह गरेका थिए । यस्तै राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि केबलकार निर्माणको काम स्थगित गरेर वार्ता र छलफल गर्न सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले वार्ता र छलफल गर्नुको साटो दमनको बाटो रोजेको छ । यो घोर आपत्तीजनक छ,’ उनले भने । यस्तै जसपाकी सांसद निर्मला लिम्बूले पनि पाथीभरा क्षेत्रमा भएको भिडन्त र विवादको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।