प्रधानमन्त्रीलाई निरो नबन्न आङ्बोको चेतावनी

विराटनगर । नेकपा माओवादी संसदीय कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको रबैया परिवर्तन नभए ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको आन्दोलनमा आफ्नो पार्टी पनि सहभागी हुने चेतावनी दिएका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले सरकारले दमनको बाटो छोडेर वार्ता र छलफलतिर ध्यान नदिए आफ्नो पार्टी पनि आन्दोलनमा सहभागी हुने चेतावनी दिएका हुन् ।

‘केबलरकार निर्माणको काम रोकेर सरकारले उच्चस्तरीय वार्ता टोली बनाई निकास खोज्नुपर्छ’ उनले भने, ‘निषेधाज्ञा र कफ्र्यु लगाएर स्थानीय समुदायमाथि गरेको दमन सैह्य हुँदैन ।’ आङ्बोले अहिले आफ्नो दलले आन्दोलनलाई नैतिक समर्थन मात्रै गरिरहेको भन्दै सरकार यसरी नै अगाडि बढे आन्दोलनमा सहभागी हुने बताए ।

निजी क्षेत्रको एक व्यापारीलाई केबलकार बनाउन दिनकै लागि राज्यले जनतामाथि दमन गरेको भन्दै आङ्बोले आपत्ती जनाए । उनले तत्काल केबलरकार निर्माण रोक्न र सुरक्षा फौज फिर्ता गरेर वार्ताको वातावरण बनाउन सरकारसँग माग गर्दै घाइतेहरुको उपचारको व्यवस्था बनाउन माग गरे । ताप्लेजुङमा भिडन्त भइरहेको र जनताहरु त्रासमा रहेकोबेला प्रधानमन्त्री जन्मदिन मनाउँदै बसिरहेको भन्दै उनले भने, ‘रोम जलिरहेको छ । निरो बाँसुरी बजाएर बसिरहेको छ ।’

ताप्लेजुङ अशान्त रहेको बेला सरकारले ‘केही भइरहेको छैन’ भनेजस्तो गरेको भन्दै आङ्बोले समस्या समाधानको लागि मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति बनाउन माग गरे । नागरिकले हुँदैन र चाहिँदैन भनेको कुरालाई ‘राज्यले किन जबर्जस्ती गरिरहेको’ भन्ने प्रश्न गर्दै उनले केबलकार बनाउनुपर्ने अवस्थामा पनि नागरिकबीच भइरहेको द्वन्द्व पहिले समाधान गर्नुपर्ने बताएका छन् ।

हिन्दु र किराँत धर्माबलम्वीहरुको पवित्र तीर्थस्थलको बारेमा उठेका विवादहरुबारे उनीहरुकै कुरा सुनेर छलफल गर्नुको साटो एकोहोरो अगाडि बढ्न खोजेप्रति आङ्बोको आपत्ती छ ।

आइतबार, ११ फागुन, २०८१, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर