ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शनिबार बेलुका प्रहरी र केबलकार विरोधी आन्दोलनकारीबीच पटक–पटक भएको झडपमा कम्तीमा २४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ र आन्दोलनत पक्षका १२ जना घाइते भएको प्रारम्भिक जानकारी संकलन भएको छ । घाइतेमध्ये आन्दोलनरत पक्षका ३ जना र सुरक्षाफौजतर्फका १ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ। सुरक्षाकर्मीतर्फ ५ जना अस्पतालको शैयामै रहेर उपचार गराई रहेको डिएसपी रावलले जानकारी दिए।
आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र ९ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको आन्दोलन समूहका किर्तिमान मादेनले जानकारी दिए । पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएको समूह काफ्लेपार्टी क्षेत्रबाट हिजो दिउँसो सदरमुकाम आएर मशाल जुलुस प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।
नो केबलकार पक्ष फागुन ६ देखि ८ गतेसम्म भएको पदयात्रा सकेर फुङलिङमा शनिबार साँझ राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । सम्भावित आगलागीका घटनालाई मध्यनजर गरेर राँको नियन्त्रणमा लिन खोजेको दावी प्रशासनले गरेको छ । त्यसक्रममा आन्दोलनकारीले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।
त्यसपछि प्रहरीले धरपकड गर्ने क्रममा आन्दोलनकारीतर्फ ठूलो संख्यामा घाइते भएको बताइएको छ । प्रहरीले रातभर आन्दोलनकारी बसेकै स्थानमा पुगेर कुटपिट र पक्राउ गरेको आन्दोलनकारीहरुले बताएका छन् । प्रहरीले एक दर्जन बढीलाई पक्राउ गरेको उनीहरुको भनाइ छ ।
भिड नियन्त्रण गर्न प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । आन्दोलनरत पक्षले भने सुरक्षाकर्मीले राति आन्दोलनकारी बसेको घर तथा होटल छापामारी आन्दोलनकारीलाई कुटपिट गर्दै धरपकड गरेको जनाएका छन् ।
स्थिति नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले आइतबार बिहान ५ बजेदेखि फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाँडा क्षेत्रमा चार किल्ला तोकेर निषेधाज्ञा ज्ञारी गरेको छ ।