बैठकमै आउँदैनन् प्रदेशका सांसदहरु

बैठकमै आउँदैनन् प्रदेशका सांसदहरु :सबै बैठकमा आउछन् जयप्रकाश चौधरी, कम आउने मोहन महर्जन

विराटनगर । कोशी प्रदेश सभाको जारी छैटौं अधिवेशनमा १४ वटा बैठक बसेकोमा धेरै सांसदहरु बैठकमा अनुपस्थित हुने गरेको पाइएको छ ।अहिलेसम्म बसेका १४ बैठकमध्ये पूर्वमुख्यमन्त्री उद्धब थापा, पूर्वमुख्यमन्त्री केदार कार्की, पूर्वसभामुख बाबुराम गौतम, पूर्वमन्त्री रामकुमार खत्री जम्मा २ बैठकमा मात्र उपस्थित भएको प्रदेश सभाको अभिलेखमा देखिन्छ । थापा काँग्रेस संसदीय दलका नेता हुन् भने कार्की र खत्री नेपाली काँग्रेसका सांसद हुन् । गौतम माओवादी केन्द्रका ।

प्रदेश सभा सदस्य राप्रपाका प्रेमराज थाम्सुहाङ र काँग्रेसका ममता तामाङ पनि २ वटा मात्रै बैठकमा सहभागी भएका छन् । माओवादीका प्रदेश सांसद रहेको पूर्वमन्त्री दुर्गाप्रसाद चापागाई पनि १४ वटामध्ये ३ वटा बैठकमा मात्र उपस्थित भएका छन् ।
पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई ४ वटा मात्रै बैठकमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो ५ वटा बैठकमा सहभागी भएको देखिएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालका छैटौं अधिवेशनसम्म जम्मा ८४ वटा बैठक बसेको छ । जनताको आवाज उठाउने थलोको रूपमा रहेको प्रदेश सभा बैठकमै सांसदहरुको कमजोर उपस्थित रहेको पाइएको छ ।प्रदेश सभा सचिवालयले विराटनगरबाट १५ किलोमिटरभन्दा टाढा घर भएका सदस्यहरुको लागि घरभाडा उपलब्ध गराउने गरेको छ । तर, झापा र सुनसरीका प्रदेशसभा सदस्यहरु घरभाडा बुझेपनि आफ्नै घरमै बस्ने गरेका छन् । प्रदेशसभाका धेरै सदस्यहरु झापा, मोरङ र सुनसरीकै छन् । उनीहरुले प्रदेशसभाबाट घरभाडा बुझेपनि विराटनगरमा नबस्ने भएकोले बैठकमा अनुपस्थित हुने गरेको पाइएको छ ।
प्रदेशसभाका अहिलेसम्म बसेका ८४ वटा बैठकमध्ये सबैभन्दा कम उपस्थिति झापाका काँग्रेस सांसद मोहन महर्जनको छ । उनी जम्मा ३९ बैठकमा मात्र उपस्थित भएका छन् । यस्तै सबैभन्दा धेरै बैठकमा सहभागी हुनेमा मोरङका एमाले सांसद जयप्रकाश चौधरी छन् । उनी ८४ वटा बैठकमध्ये सबै बैठकमा सहभागी भएको पाइएको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्की ४१ वटा बैठकमा मात्र सहभागी भएका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा सक्रिय र नियमित उपस्थित हुने सांसदको पहिचान बनाएका उनी दोस्रो कार्यकालमा भने कमै मात्र प्रदेशसभामा देखिन्छन् । तर, दोस्रो कार्यकालमा ७ महिना मुख्यमन्त्री भएका उनी त्यसयता प्रदेशसभाको बैठकमा खासै देखिँदैनन् ।

कांग्रेस नेता अमृतकुमार अर्याल पनि ८४ मध्ये ४७ वटा बैठकमा मात्रै उपस्थित भएका छन् । विराटनगरकै बासिन्दा उनी कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा पूर्वसांसद समेत हुन् । यस्तै काँग्रेसकै सांसद रहेकी सुनसरीकी ममता तामाङ ४२ वटा बैठकमा मात्रै सहभागी भएको देखिएको छ ।काँग्रेसकै सांसद रहेका पूर्वमन्त्री रामकुमार खत्री ४२ वटा बैठकमा सहभागी भएका छन् । उदयपुरका उनी केदार कार्की नेतृत्वको सरकारमा कृषिमन्त्री भएका थिए । पाँचथर घर भएका राप्रपाका थाम्सुहाङ ४४ वटा बैठकमा मात्रै सहभागी भएको देखिएको छ ।

संसदमा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्नुका साथै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा सांसदहरुको उपस्थिति नै कमजोर छ । माओवादी केन्द्रका सांसद रहेका पूर्वसभामुख बाबुराम गौतम पनि ४८ वटा बैठकमा मात्र उपस्थित भएका छन् । यस्तै, माओवादीकै सांसद रहेका पूर्वमन्त्री जीवन आचार्य ४८ वटा बैठकमा मात्र उपस्थित भएका छन् । उनी विराटनगरकै बासिन्दा हुन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार केन्द्रमा केही हुँदा प्रदेशमा त्यसको प्रभाव पर्ने भएकाले प्रदेश सभाको कामले पनि गति लिन सकेको छैन । अर्कोतिर प्रदेशको कमजोर अधिकारक्षेत्र भएकोले पनि सांसदहरुले बैठक वेवास्ता गरेको अनुमान छ ।सांसदहरू आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएको आरोप लाग्दै आएको छ । प्रदेशसभाको बैठकमा शीर्ष नेताहमरुको पनि नियमित उपस्थिति छैन ।

पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापा ३० वटा बैठकमा गयत भएका छन् भने पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई २४ बैठकमा अनुपस्थित देखिन्छन् । प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले २३ वटा बैठक छुटाएको देखिन्छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २० वटा र राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले १९ वटा बैठकमा गयल भएको देखिएको छ । पूर्वमन्त्री शमशेर राई, काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, काँग्रेसकै सांसद विनोद राई र एमालेका बुद्धिकुमार राजभण्डारी ८४ मध्ये ५६ वटा बैठकमा उपस्थित भएको देखिएको छ ।

प्रदेश सभा सचिवालयले दिएको विवरणअनुसार धेरै उपस्थित हुने सांसदहरुमा मोरङका शिला दीक्षित कार्की ८३, सुनसरीका रमेशकुमार बस्नेत ८३, तेह्रथुमकी कमला दर्नाल ८२, ललिताकुमारी चौधरी ८२, उदयपुरकी गीतादेवी रेग्मी ८१, मोरङका खड्गबहादुर बस्नेत ८१, गीता रानी महतो ८१, गोम्बु शेर्पा ८१, रामप्रसाद महतो ८१, रामदेव यादव ८१ र संखुवासभाका विदुर लिङ्थेपले ८० छन् ।

शुक्रबार, ०९ फागुन, २०८१, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर