ओडिसाबाट फर्केका विद्यार्थी भन्छन् : फेरि कलेज फर्किने अवस्था छैन

विराटनगर ।भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरु नेपाल फर्किने क्रम रोकिएको छैन । कलेज प्रशासनको ज्यादती कारण असुरक्षित महशुस गरेर विराटनगर नाकाबाट मात्र ८३ जना विद्यार्थीहरु नेपाल फर्किएका छन् ।

कोआइआइटीमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्युपछि कलेज प्रशासनको ज्यादती बढेपछि त्यहाँ बस्नसक्ने अवस्था नभएको घर फर्किएका विद्यार्थीहरुले बताएका छन् ।मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जोगवनी नाका भएर बिहीबार दिउँसोसम्म मोरङका ४१, सप्तरीका १४, सुनसरीका १५, काठमाडौँ र सिराहाका ३–३ जना फर्केका हुन् । यस्तै सर्लाही र धनुषाका २÷२ जना विद्यार्थी जोगवनी नाकाबाट नेपाल प्रवेश गरेका हुन् । यस्तै ललितपुर र उदयपुरका १–१ जना यसै मार्गबाट छन् । यस्तै झापा घर भएका एक जना विद्यार्थी पनि जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रशासन कार्यालयले भारतबाट फर्किएका विद्यार्थीहरुलाई सीमा क्षेत्रमा बसेर सहयोग गरिरहेको छ । बेखर्ची विद्यार्थीको गाडीभाडा तथा रिक्सा भाडा तिरिदिने, विराटनगरसम्म ल्याएर सुरक्षित राख्ने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउन प्रशासनले सहयोग गरिरहेको छ ।

बिहीबार विराटनगरको जोगवनी नाकामा भेटिएका विद्यार्थीहरूले सुरक्षाको सुनिश्चितता नभएसम्म कलेज फर्किने विषय सोच्नसम्म नसकिने बताएका छन् ।प्रकृतिको मृत्युपछि कलेजले घटना लुकाउने खोजेपछि नेपाली विद्यार्थी आक्रोशित भएको उनीहरुले बताए । पहिला होस्टल खाली गर्न कलेज प्रशासनले यातनासमेत दिएको र उनीहरुको दबाबपूर्ण व्यवहारकै कारण अब तत्कालै फर्किएर पढ्ने वातावरण नहुने आदित्य अग्रवालले बताए ।

‘केआइआइटीमा हामी २ हजार २५ सय नेपाली विद्यार्थी पढ्छौं । यो घट्नापछि ९५ प्रतिशत घर फर्किसकेका छौं । ५ प्रतिशत जति साथीहरु रेलको टिकट नपाएका कारण र फर्कने पैसा पनि नभएकाले त्रासकै बिचमा पनि उतै बसिरहेका छन् । उनीहरूको तत्कालै नेपाल सरकारले उद्धार गर्नुपर्छ,’ अग्रवालले भने । दोषीलाई कारबाही गर्नुपर्छ भनेर विद्यार्थीले आवाज उठाएपछि कलेज ले तुरुन्त फि तिर्न दबाब दिएको र फि नतिरेमा नाङ्गै पारोर पठाउँछौं भन्दै धम्क्याएको विद्यार्थीहरुले बताएका छन् ।

‘प्रकृती सुसाइट’ भनेर साथीहरूको म्यासेज आएपछि विद्यार्थीहरुले कलेज प्रशासनलाई उनको मोबाइल र ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेको फर्किएका विद्यार्थीहरुले बताएका छन् । तर क्याम्पस प्रशासनले विद्यार्थीको माग सुनुवाई गर्नुको साटो उल्टै धम्की दिने काम गरेपछि विद्यार्थीहरुले दबाबका लागि बाध्य भएर प्रदर्शन गर्नुपरेको विद्यार्र्थी उत्कर्ष श्रेष्ठले बताए । ‘घटनापछि फाउन्डरसँग विवादभएको थियो,’ श्रेष्ठले भने ‘त्यसको भोलिपल्ट एकै पटक होस्टल खाली गर्न भन्दै धम्की आयो । ढुक्क भएर तत्काल नै पढ्ने वातावरण नभएकाले सरकारले पहल गरेर ढुक्क नपारेसम्म फर्केर जाने अवस्था छैन ।’
प्रकृतीकै कोठाको छेउमा बस्थिन् अनुष्का साह । प्रकृतिले आत्महत्या गरेको कलेज प्रशासनले थाहा पाएको चार घण्टासम्म कसैलाई खबर नगरेपछि विद्यार्थी आक्रोशित भएको उनले बताइन् । ‘प्रकृती र मेरो वल्लोपल्लो कोठा हो,’ उनले भनिन् ‘चार घण्टासम्म मैले पनि खबर पाइँन । पहिला पनि यस्ता घटना दबाउन कलेजले प्रयास गरेको हल्ला बेला बेलामा चल्ने गरेको थियो । त्यसैले अधिकांश विद्यार्थीले साथ दिएपछि दोषीलाई कारबाही गर्न माग राखेका थियौं । ’

घटना भएको भोलिपल्ट बिहान १०÷१५ जना पुलिसले होस्टलबाट लखेटेको उनले बताइन् । ५ मिनेट भित्रमा होस्टल खाली गर नत्र पिटेर निकाल्छौं भन्दै धम्काएको उनले बताइन् । हामी केटीहरू कहाँ जाने भन्दा पनि अमानवीय व्यवहार गरेको उनले बताइन् । ‘युनिभर्सिटीको फैसला हो भनेर हामीलाई निकाले । धेरै दाइहरू पुलिसबाट कुटिनुभयो, अभिभावकहरूले अब त्यहाँ पढ्न नजान भनिरहनुभएको छ । अब सुरक्षाको ग्यारेन्टी नभएसम्म जान सकिँदैन’ उनले भनिन् ।

घटनापछि उक्त घटना अन्तर्राष्ट्रियकरण भएको र भारत सरकारकोसमेत दबाब परेपछि कलेजले माफी मागेको छ । कलेजले माफी मागे पनि फर्केर पढ्न जाने अवस्था नबनेको अनुष्का बताउँछिन् ।‘म काम पनि गर्दैछु । दुई हप्तापछि जान्छु । एक विद्यार्थीले भने ‘तर कलेज फर्केर पढ्न सक्ने अवस्था भने अब हुँदैन होला ।’ उनले तत्कालै काम गर्न जान परेकाले आफ्नो नाम भने नलेखिदिन आग्रह गरे ।

कलेज प्रशासनले स्थानीय गुन्डालाई बोलाएर कुटपिटसमेत गरेकाले विद्यार्थी असुरक्षित रहेको ती विद्यार्र्थीले बताए । शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्र्थीको प्रदर्शन पछि उनीहरूलाई त्यहाँबाट निकालिएको थियो ।
भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शब बुधबार नेपाल ल्याएर परिवारले दाहा संस्कार गरिसकेका छन् ।

शुक्रबार, ०९ फागुन, २०८१, दिउँसोको ०१:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर