विराटनगर । विराटनगर–९ हस्पिटल चोकमा रहेको जिगरी ल्याब एण्ड पोलिक्लिनिक प्रालिले पाएको इजाजतभन्दा बाहिर गएर स्वास्थ्य उपचार सेवा दिइरहेको पाइएको छ । विराटनगर महानगरपालिकाका स्वास्थ्यका प्राविधिकसहितको छोलीले उक्त पोलिक्लिनिकमा अनुगमन गर्दा कानुनविपरीत बिनाइजाजत वेड राखेर उपचार सेवा दिइरहेको पाइएको हो ।
इजाजत नपाएको स्वास्थ्य सेवा प्रदान गर्दा विरामीको स्वास्थ्यमा गम्भीर असर पुग्ने गरेको चिकित्सकले बताएका छन् । नियामक निकायको फितलो अनुगमनको कमजोरीको फाइदा उठाउँदै जिगरी पोलोक्लिनिकले विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ ।
उक्त पोलिक्लिनिकले ‘सि ग्रेड’को ल्याब सञ्चालन गर्ने र ओपिडीमा आएका विरामीको स्वास्थ्य जाँच गर्ने अनुमाति मात्र स्वास्थ्य कार्यालय मोरङले दिएको छ । तर, उक्त पोलिक्लिनिकले पाएको अनुमति भन्दा बाहिर गएर चार वटा बेड राखेर मापदण्ड विपरीत स्वास्थ्य उपचार गरिरहेको अनुगमनका क्रममा पाइएको थियो । ओपीडिमा आएका एक जना भारतीय विरामीको उपचारको क्रममा मृत्यु भएपछि जिगरी ल्याब एण्ड पोलिक्लिनिकले बेड राखेर उपचार गरेको अनुगमनको क्रममा पाइएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए ।
नौसाद आलम र जाबेद अन्सारीले संचालन गरेको उक्त पोलोक्लिनिको इजात लिएको पाइएको छ । तर, अनुगमनको क्रममा चार वटा बेड राखेर उपचार सेवा सुरु गरेको पाइएको यादवले बताए । जुन इजाजत भन्दा बाहिर गएर सेवा प्रदान गरेको देखिएको उनले बताए । ‘इजाजत लिएको भन्दा बढी सेवा दिएको पाइएको छ । यो गर्न पाइदैन । ल्याब पनि ‘सि ग्रेड’को अनुमिति ल्याएको छ । तर, मापदण्ड अनुसारको छैन । पोलिक्लिनिक अन्र्तगतको ल्याबको सि ग्रेडको हुनुपर्ने हो । त्यो अनुसार छैन । एक्स–रे पनि व्यवस्थित थिएन । रेडिएसनबाट बचाउन आवश्यक लिड पनि थिएन । सबै समेटर हामीले प्रतिवेदन तयार पारेका छौं, यो प्रतिवेदन अनुमित प्रदान गर्ने स्वास्थ्य कार्यालय मोरङलाई बुझाउनेछौं । आवश्यक कारवाहीको प्रक्रिया स्वास्थ्य कार्यालय मोरङले. गर्नेछ,’ स्वास्थ्य माहाशाखा प्रमुख यादवले भने ।
यता जिगरी ल्याब एण्ड पोलिक्लिनिकका संचालक नौसाद आलमले अनुमति पाएभन्दा बाहिर गएर उपचार सेवा सुरु नगरेको दाबी गरे । ‘ओपीडिमा आएका विरामीहरु कतिपय पेट दुखेकाहरु पनि आउने गर्दछन् । उनीहरुलाई अब्जरबेसनमा राख्नको लागि बेड राखिएको हो । भर्ना गर्नुपर्ने विरामीलाई हामी हस्पिटलतिर रेफर गर्दै आएका छौं,’ उनले भने । ल्याबको हकमा भने अहिले मर्मतको चरणमा रहेकोले मापदण्ड अनुसार बनाउने तयारी गरिएको उनले बताए । स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईंले अनुगमन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘अनुगमन समिति गठन भएको छ । सो समितिले दिएको प्रतिवेदनको आधारमा थप कारवाहीको प्रक्रिया अगाडि बढ्नेछ ।
पोलोक्लिनिकले बेडर राखेर उपचार गर्न पाउँदैन । यदि पाएको इजाजत भन्दा बाहिर गएर कसैले काम कारवाही गरेको पाइएमा जनस्वास्थ्य ऐन अनुसार कारवाही हुनेछ । सो ऐनले पोलिक्निकलाई जरिवनादेखि दर्ता खारेजीसम्मको अधिकार दिएको छ,’ उनले भने ।
उपप्रमुख नेतृत्वको छानविन समितिले बनायो प्रतिवेदन
उपचारको क्रममा भारतीय नागरिक ६० वर्षीया सोहेब अफतरको आइतबार मृत्यु भएपछि विराटनगर महानगरपालिकाको उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा सात सदस्य समिति गठन भयो । उक्त समितिमा विराटनगर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, रमेश कार्की, रानी अस्पतालका प्रमुख टेक्निसियन अधिकृत मानिकचन्द भगत, भुपेन्द्र साह, र मिना अधिकारी रहेको छ । उक्त समितिले अनुगमन गरेर सोमबार प्रतिवेदन तयार पारेको हो । समितिका सदस्य स्वास्थ्य महाशाखा प्रमुख यादवको अनुसार आइतबार मृत्यु भएको भारतीय नागरिक अफतरको ज्वरो र स्वाप्रश्वासमा समस्या भएपछि २७ पुसमा जिगरी ल्याब एण्ड पोलिक्लिनिकको ओपिडीमा आएका थिए । भर्ना गरेर उपचार गर्नुपर्ने भएपछि फिजिसियन डाक्टर कौसल अलीको सिफारिसमा ग्रिनक्रस हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेको विरामीको मृत्यु भएको थियो । उपचार संलग्न चिकित्सक अलीका अनुसार स्वास नलिमा खाना अड्किएपछि उपचारका लागि आएका विरामीलाई बचाउन नसकिएको बताए । यता विरामीका आफन्तहरुले भने लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन् ।
‘ओपीडिमा विरामी आउँदा ज्वरो र स्वाप्रश्वासमा समस्या थियो । तत्काल भर्ना गरेर उपचार गनुपर्ने भएपछि विरामीका आफन्तको आग्रहमा ग्रिनक्रस हस्पिटलको आइसियुमा राखेर उपचार सुरु भएको थियो । सुरुमा भन्टिलेटरमा राखियो । क्रमिक रुपमा सुधार हुँदै गएपछि एचडियुमा राखियो । त्यसपछि बेडमा सारियो । वार्डमा आएपछि विरामीलाई खान खुवाउँदा सर्कियो । स्वास नलीमा खाना अड्कियो । त्यसपछि भेन्टिलेटरमा राखियो । हामीले उपचार गर्दै गर्दा विरामीलाइ बचाउन सकिएन,’ उपचारमा संलग्न चिकित्सक अलीले भने, ‘यी सबै कुरा हामीले विरामीका आफन्तलाई बुझाएका थियौं । अहिले किन आएर लफडा गरेको हो त्यो थाहा छैन ।’